काठमाडौ ४ असार । नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ३७ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्ष २०८१र८२ को शुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले बैंकहरूको कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ । पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम चार खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा सात खर्ब रुपैयाँ हाराहारी तरलता अर्थात् लगानीयोग्य रकम रहेको छ ।








प्रतिक्रिया दिनुहोस्