काठमाडौ १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली प्रकरणमा गृह प्रशासनकै संलग्नता रहेको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेपछि भिजिट भिसामा हुने असुली सङ्गठित र संस्थागत रूपमै हुने गरेको शङ्का बढेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कर्मचारीमाथि पनि छानबिन थालेको छ । आयोगले छानबिन गरिरहेका बेला गृह मन्त्रालयले केही कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा विभिन्न देशमा पठाउने गरेको उजुरीका आधारमा सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर तारिखमा छोडेको छ ।
अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराईले प्रयोग गर्ने कम्प्युटर र मोबाइलसहित केही उपकरण पनि नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।
गृहमन्त्रीका स्वकीय सचिव तथा निजी सचिवहरूको पनि भिजिट भिसाका एजेन्टहरूसँग निकटतम सम्बन्ध रहेको आरोप लागेको छ ।
गृहमन्त्रीलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी र सर्वोच्च अदालतमा रिट पनि परेको छ ।








प्रतिक्रिया दिनुहोस्