काठमाडौ ३ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ ।
सगरमाथा संवादमा सहभागी हुन काठमाण्डौ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री राणाले जोशीको अवस्था र रिहाइमा पहलको लागि आग्रह गर्नुभएको हो ।
हमास लडाकू समूहले इजरायलबाट अपहरण गरेका नेपालका विपीन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
सन् २०२३ मा अपहरणमा परेका जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग नेपालले विश्व समुदायसँग आग्रह गर्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस्