काठमाडौ ३१ बैशाख । गृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधिमा सरकार सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन् ।कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै बुधबार विराटनगरमा गृहमन्त्री लेखकले लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता गर्न नसकिने बताएका हुन् ।
‘लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन,’ उनले भने, ‘फलानो घरमा जन्मिएको आधारमा शासन गर्न पाइने समय अब सकिएको हो ।’
गृहमन्त्री लेखकले राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा भएको उल्लेख गर्दै विपद् न्यूनीकरण, जोखिम पहिचान र तदारुकता पूर्वक कार्य गर्ने खाँचो औंल्याए । ‘शान्ति सुरक्षा सुनिश्चित भए मात्र विकास सम्भव हुन्छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामार्फत दिगो शान्ति र समृद्धिको यात्रामा पुग्न सकिन्छ ।’
उनले हाल देशमा लागू औषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधको त्रास बढिरहेको भन्दै यसप्रति सुरक्षा निकाय सजग र सक्रिय हुनुपर्नेमा जोड दिए । ‘एक महिनाभित्र तस्करी नियन्त्रण भएको देखिनु पर्छ,’ उनले चेतावनी दिँदै भने, ‘तस्करी टुलुटुलु हेरेर बस्ने काम सह्य हुने छैन ।’
गृहमन्त्री लेखकले सेवा प्रवाहमा नागरिकलाई रिसाएर होइन, हाँसेर सेवा दिन आग्रह गरे । ‘नागरिकले धेरै ठूलो अपेक्षा गरेका छैनन्, निराशा भएर फर्किने अवस्था आउनुहुँदैन,’ उनले भने।
साइबर सुरक्षा नयाँ चुनौती स् मुख्यमन्त्री कार्की
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकास र सुशासनका लागि सुरक्षा अपरिहार्य शर्त भएको उल्लेख गरे।
‘समाज विकाससँगै लागू पदार्थ दुरुपयोग र साइबर अपराध नयाँ चुनौती बनेका छन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘जातीय र पहिचानका नाममा भएका केही घटनाले पनि सुरक्षा चुनौती बढाएका छन् ।’
गृह सचिव गोकर्णमणि दवाडी, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा तथा नेपाली सेनाका उच्च अधिकारीहरू सहित कोशीका१४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ ।







प्रतिक्रिया दिनुहोस्