काठमाडौ ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै हुनुहुन्छ । ह्वाइट हाउसले ट्रम्पले ‘मध्यपूर्वमा ऐतिहासिक पुनरागमन’ गरिरहेका जनाएको छ ।
यसअघि पोप फ्रान्सिसको निधनपछि अन्तिम संस्कारमा सामेल हुन ट्रम्प भ्याटिकन पुग्नुभएको थियो । तर राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
उहाँले साउदी, कतार र यूएईको भ्रमण गर्न लाग्नुभएको छ । भ्रमण आपसी सम्बन्धलाई थप सुदृढ पार्ने र ठूला महत्त्वपूर्ण आर्थिक सम्झौतामा केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रोयर्टसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प पर्सि बिहीवार टर्कीमा हुन लागेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बैठकका लागि टर्की जान सक्ने सम्भावना छ ।
साउदी अरबले अमेरिका, रुस र युक्रेनबीच प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । गएको फ्रेब्रुअरीमा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे रियादमा उच्चस्तरीय बैठक भएको थियो । तर त्यो बैठकमा युक्रेनलाई संलग्न गराइएको थिएन ।







प्रतिक्रिया दिनुहोस्