काठमडौं, १० चैत । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निवासमा शनिवार बसेको केन्द्रीय कार्यालय बैठकले मन्त्री बनेपछि उनीहरुको प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरी नयाँ इन्चार्ज तोकेको हो ।
केन्द्रीय कार्याल्य बैठकको यो निर्णयसँगै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादव, उर्जा मन्त्री वर्षमान पुन र बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत प्रदेश इन्चार्जबाट बिदा हुनुभएको छ । यसैगरी प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटनु भएको छ । यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज हुनुहुन्थ्यो ।
प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो । माओवादीले शनिवारबाट प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इञ्चार्ज बनाउने निर्णय गरेको छ ।
प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै राख्ने बैठकले निर्णय गरेको छ । एक ब्यक्ति एक पदको नीतिअनुसार जिम्मेवारी हेरफेर गरिएको माओवादीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्