काठमाडौं १० बैशाख । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादबारे सर्वोच्च अदालतमा भइरहेको निरन्तर सुनुवाइका कारण पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमाथिको सुनुवाइ पछि धकेलिएको छ।
सापकोटाविरुद्धको रिटलाई फागुन २८ गते हेर्दाहर्दैमा राखेर आजको लागि सुनुवाइ तोकिएको थियो। तर, संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारेको विवादमाथि संवैधानिक इजलासमा एक साता देखि निरन्तर सनुवाइ भइरहेकाले सापकोटाविरुद्धको रिटमाथि आज सुनुवाइ नहुने भएको छ। उनको मुद्दामा अब अर्को पेसी तोकिने छ।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले दिएको रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ।
द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।
अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।







प्रतिक्रिया दिनुहोस्