काठमाडौं ४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको छ।
ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा हुनुपर्ने निचोडमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए।
‘पूर्वराजा र राजावादी दल सक्रिय हुँदै जाँदा ‘गणतन्त्रवादीहरूको राष्ट्रिय सरकार’ भन्नेमा बहस चलेको साँचो हो,’ ती नेताले भने।
लोकतान्त्रिक गणतन्त्रमा पुगेको नेपाललाई फेरि पञ्चायती व्यवस्थातर्फ फर्काउने उल्टो बाटो हिँड्न नदिन दलबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने कुरा उठेको उनको भनाइ छ।
‘गणतन्त्रवादीहरूको राष्ट्रिय सरकार बन्ने अवस्थामा पहिलो पार्टीले नेतृत्व गर्छ,’ उनले भने, ‘त्यसो हुनेबित्तिकै एउटा दनक त भारतले भनेको जसरी चल्नु पनि परेन। राजावादी र ज्ञानेन्द्रको मनोबल पनि बढ्न पाउँदैन। अहिले त गणतन्त्रवादी फुटेर न विभिन्न शक्तिको मनोबल बढेको हो।’
खासगरी माओवादी केन्द्रका नेताहरू ‘राष्ट्रिय सरकार’ बन्नु पर्ने कुरामा मुखर हुन थालेका छन्। माओवादीका सांसद लेखनाथ दाहालले आइतबार गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुलेको ठोकुवा नै गरे।
‘सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिन सहकार्यको थालनी भएको छ,’ दाहालले भने, गणतन्त्र विरोधीसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरकै सरकार बन्ने सम्भावना बढेको छ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संवाद सुरु भएको छ।
‘मधेश अभियान चलिरहेकै बेला हाम्रो अध्यक्ष प्रचण्ड र देउवाबीच टेलिफोनमा संवाद भइरहेको थियो,’ सांसद समेत रहेका माओवादीका ती नेताले भने ‘अभियान स्थगित गरेर काठमाडौँ आएपछि त्यो संवाद बाक्लिएको मैले बुझेको छु।’
तर, कांग्रेसका एक नेताले भने दोस्रो र तेस्रो तहका नेताहरूबीच मात्र छलफल भएको बताए।
‘राजावादीहरूको गतिविधि, विकसित घटनाक्रम सबै हेरेर मात्र एउटा निचोडमा दलहरू पुग्ने हुन्, अहिले व्यवस्थामाथि संकट पर्न नदिने विषयमा दोस्रो र तेस्रो तहका नेताहरूबीच छलफल भइरहेको हो,’ कांग्रेसका नेताले भने।
कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले ज्ञानेन्द्रको चलखेललाई लिएर दलहरू एकैठाउँमा हुनसक्ने सम्भावना रहे पनि सरकारै बनाउने कुरा नभएको दाबी गरे।
‘निर्वाचित व्यवस्थाको विकल्प छैन। राष्ट्रपतिको ठाउँमा राजा आएर उनीहरूले भनेको जस्तो के हुने भयो तरु’ उनले भने, ‘राजाको निरङ्कुश व्यवस्थामा कति गाह्रो थियोरु यसबारे जनतालाई शिक्षित गर्न आवश्यक छ। यसका लागि हामी सबै लाग्नुपर्छ। अहिले हामी सरकारमा रहेका दलले राम्रो काम गरेर जनतामा विश्वसनीयतालाई बढाएर लानुपर्छ।’
‘गणतन्त्रवादी एकैठाउँमा आउनेबित्तिकै यो व्यवस्था बलियो हुने, प्रतिपक्ष र सरकारमा हुनेबित्तिकै कमजोर हुने जस्तो मलाई लाग्दैन,’ डा। महतले थपे, ‘विपक्षीमा बसेका राप्रपाबाहेक दल अहिलेकै व्यवस्था रक्षा गर्नुपर्छ भनिरहेका छन्। सत्तामा बसेको दलले पनि त्यही भनिरहेका छन्। सबै सत्तामा आउनेवित्तिकै यो थप मजबुत हुने, नआउँदा कमजोर हुने भन्ने मलाई लाग्दैन।’
कांग्रेसकै कतिपय नेताहरू भने एमालेसँग सहकार्य भइरहेको बेला अहिले राष्ट्रिय सरकारको बहस गर्नै नहुने तर्क गर्छन्।
‘खासमा नयाँनयाँ प्रयोग गर्दै जाँदा नै व्यवस्था झन् बिग्रने हो,’ कांग्रेसका एक सांसदले भने, ‘विपक्षी र सत्तापक्ष एकै ठाउँमा आउँदा, दुई ठूला अनि तेस्रो शक्ति पनि मिल्दा त देश संकटमा परेको सन्देश जान्छ, त्यसले परिस्थिति झन् नराम्रो बनाउँछ।’
सरकारप्रति माओवादी नरम
केही समययता सरकारप्रति आक्रामक माओवादी केन्द्रले कांग्रेस–एमालेप्रतिको रवैया फेरेको छ। अब कांग्रेस–एमालेमाथि आक्रामक नभई व्यवस्था रक्षाका विषयमा केन्द्रित हुने माओवादीका एक नेता दाबी गर्छन्।
पछिल्लो समय अध्यक्ष प्रचण्डको पूर्वराजा विरोधी चर्को अभिव्यक्तिलाई उदाहरणका रुपमा पेश गर्दै उनले भने, ‘अब पूर्वराजा र राजावादीमाथि प्रहार केन्द्रित हुन्छ।’
एमालेका नेताहरूले खुलेरै भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाउन जोड गरिरहेको बताएका छन्। कांग्रेसलाई छिटो सत्ताको नेतृत्व दिलाउन प्रयास भइरहेको उनीहरूको भनाइ छ।
तथापि, कांग्रेस सभापति देउवाले अहिलेसम्म त्यसलाई अस्वीकार गरिरहेको उनीहरू दाबी गर्छन्।
पछिल्ला केही दिनयता माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच टेलिफोनमा बारम्बार कुराकानी भइरहेको माओवादीका अर्का एक नेताले पनि बताए।
‘देउवा र प्रचण्ड दुवैका विश्वासपात्र नेतामार्फत् त्यो वातावरण बनेको हो,’ ती नेताले भने।
तर प्रचण्डले देउवासँग राष्ट्रिय सरकारको विषयमा छलफल नगरी अहिलेकै सरकारलाई अलोकप्रिय काम गर्नबाट रोक्न सुझाव दिएको उनले अथ्र्याउन खोजे।
‘प्रचण्डले देउवासँग यो व्यवस्थाको विरुद्धमा नजानुस्। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने जस्ता काम नगर्नुस्, यसले राजावादीलाई फाइदा पुग्छ भन्नु भएको हो,’ उनले भने, ‘नयाँ सरकारको विषयमा छिरिसकेको छैन।’
देउवासँग यस्तै छलफल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गरिरहेका छन्।
माओवादी सहित चार दल रहेको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ। ज्ञानेन्द्रलाई थप सक्रिय नबन्न चेतावनी दिनेगरी सो कार्यक्रम राखिएको नेपाल समाजवादी पार्टी ९नेसपा०का सहअध्यक्ष गंगानारायण श्रेष्ठ बताउँछन्।
‘त्यसपछि घटनाक्रम कसरी अघि बढ्छ, त्यस आधारमा थप रणनीति बन्छ,’ श्रेष्ठले भने, ‘यदि राजावादी र ज्ञानेन्द्रको चलखेल नरोकिए तुरुन्त निर्णय भइहाल्न पनि सक्छ।’
पूर्वराजा ज्ञानेन्द्र र राजावादीको सक्रियताबारे कांग्रेसका नेता एवं राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सोमबारको संसद बैठकमा बोल्ने भएका छन्।
कांग्रेस–माओवादी केन्द्र संवादसँगै काठमाडौँमा राष्ट्रिय सरकारको चर्चा बढ्दै जाँदा अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले भने मुख खोलेको छैन। पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोमबार पार्टीको सचिवालय बैठक राखेका छन्।








प्रतिक्रिया दिनुहोस्