काठमाडौं २८ फागुन । कोसी प्रदेशकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी विवादले उग्र रूप लिएको छ। नेपाली कांग्रेस निकट नेविसंघको आधिकारिकताको विवाद क्याम्पसमा तालाबन्दी गर्ने गरी बल्झिएको हो।
स्ववियु निर्वाचनका लागि नेविसंघका दुई धारले अलग अलग मनोनयन दर्ता गरेपछि नेविसंघको विवाद क्याम्पस भित्रै आगो लगाउनेसम्मको अवस्थामा पुगेको हो।
महेन्द्र मोरङ क्याम्पसमा नेता शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजंग विष्टले प्यानल नै बनाएर मनोनयन दर्ता गरेका हुन्।
कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि विवाद बढेको हो। कोइराला समूहका विद्यार्थीहरूले निर्वाचन समितिको कार्यालयमा आगजनीको प्रयास गर्नुको साथै तालाबन्दी गरेका छन्।
यसअघि नेविसंघ भित्रैका दुई समूहबीच कुटाकुट हुँदा केही घाइते भएका थिए। अन्य क्याम्पसहरूमा स्वतःस्फूर्त रूपमा उम्मेदवाहरूले मनोनयन दर्ता गराइरहँदा महेन्द्र मोरङमा भने निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको छ।
नेविसंघको महेन्द्र मोरङ घटनापछि संस्थापन पक्षले जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरेको घोषणा गरेको थियो। निर्वाचन समितिको कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले तालाबन्दी गर्दै आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।
नेविसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्ड साहको नेतृत्वमा योगराज दाहाल लगायत १२र१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए।
आगजनीबाट केही कागजात जलेको प्रहरीले जनाएको छ।
ताला भने प्रहरीले फोडेको छ।








प्रतिक्रिया दिनुहोस्