ट्रम्पको आर्थिक जबर्जस्तीप्रतिको मोहले उनको आर्थिक लक्ष्यहरूलाई कमजोर बनाउनेछ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको दुई महिना नपुग्दै ट्यारिफ (भन्सार कर) लगाउने आफ्नो चुनावी प्रतिबद्धतामा प्रभावशाली तरिकाले तीव्रताका साथ काम गरेका छन्। सपथग्रहणको दिनमै उनले अमेरिका पहिलो व्यापार नीति मेमोरान्डम जारी गरेर अमेरिकी व्यापार नीतिको समीक्षा गर्न र नयाँ ट्यारिफ व्यवस्थाको खोजी गर्न निर्देशन दिए। फेब्रुअरीको पहिलो दुई हप्तामा उनले करिब आधा ट्रिलियन डलरको अमेरिकी आयातलाई समेट्ने नयाँ शुल्कहरू लागू गर्ने प्रक्रिया सुरु गरे। मार्च ४ मा उनले चीनमाथि फेब्रुअरीमा लगाइएको ठूलो ट्यारिफ वृद्धिलाई दोब्बर बनाए। यो अवधिमा उनले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ घोषणा गरे, फेरि स्थगित गरे, फेरि घोषणा गरे र फेरि स्थगित गरे। उनको प्रशासनले अप्रिल २ मा पारस्परिक ट्यारिफ लगाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यसको परिणामस्वरूप अनिश्चितता, अराजकता र संयुक्त राज्य अमेरिकाका केही ठूला व्यापारिक साझेदारहरूबाट तत्काल प्रतिकार भएको छ। यो सम्पूर्ण आर्थिक उथलपुथलले एउटा केन्द्रीय प्रश्न उठाउँछः ट्रम्प ट्यारिफमा किन यति धेरै केन्द्रित छन् ? यो उनको लामो समयदेखिको चाहना हो। उनले आफ्नो दोस्रो सपथग्रहण सम्बोधनमा भने, “हामी विदेशी देशहरूलाई ट्यारिफ र कर लगाएर हाम्रा नागरिकहरूलाई समृद्ध बनाउनेछौं,“ जुन उनको पहिलो कार्यकालका टिप्पणीहरूसँग लगभग शब्दशः मेल खान्छ। ट्रम्पको दृष्टिकोण के देखिन्छ भन ट्यारिफले सबै कुरा ठीक गर्न सक्छ। तिनले विदेशीहरूबाट कर राजस्व उठाएर घरेलु करहरू प्रतिस्थापन गर्न, व्यापार सन्तुलन पुनस्र्थापना गरेर व्यापार घाटा हटाउन, पारस्परिकता सुनिश्चित गर्ने जसले गर्दा अन्य देशहरूले अमेरिकी निर्यातकर्ताहरूमाथि कम ट्यारिफ लगाऊन्, उत्पादन रोजगारी अमेरिकामा फर्काउन, राष्ट्रिय सुरक्षाको संरक्षण गर्न र शत्रुतापूर्ण आपूर्तिकर्ताहरूमाथिको निर्भरता अन्त्य गर्न, र आप्रवासन रोक्न नसकेको जस्ता असम्बन्धित गल्तीहरूका लागि देशहरूलाई सजाय दिन सकियोस् ।
वास्तवमा, ट्यारिफले कहिलेकाहीं यी केही उद्देश्यहरू हासिल गर्न मद्दत गर्न सक्छ। लक्षित ट्यारिफहरू असहयोगी देशहरूबाट आपूर्ति परिवर्तन गर्न उपयोगी उपकरण हुन सक्छन्। तर तिनीहरू ट्रम्पलाई चिन्ता लाग्ने चुनौतीहरूसँग जुध्नका लागि प्रायः उत्तम नीति होइनन्। र यी समस्याहरूको जटिल, अन्तरसम्बन्धित प्रकृतिलाई ध्यानमा राख्दा, एउटा समस्या समाधान गर्न ट्यारिफ प्रयोग गर्दा अर्को समस्या समाधान गर्ने देशको क्षमतालाई बाधा पु¥याउन सक्छ।
ट्रम्प प्रशासनले बरु आर्थिक नीतिहरूको पूर्ण सूचीको उपयोग गर्नुपर्छ। यसको सम्भावित उपकरणको भण्डार विशाल छ र यसमा सहयोगीहरूसँग मिलेर महत्वपूर्ण उद्योगहरूका लागि आपूर्ति श्रृंखला विविधीकरण गर्ने, वित्तीय घाटा घटाउने, र अमेरिकी कर संहितालाई परिवर्तन गर्ने जस्ता रणनीतिहरू समावेश छन् ताकि कम्पनीहरूको उत्पादन बाहिर लैजाने प्रोत्साहन कम होस् वा उत्पादन रोजगारी सिर्जना गर्न प्रेरित होस्। ट्रम्प प्रशासनले अमेरिकी अर्थतन्त्रमा पहिचान गरेका धेरै समस्याहरूको उत्पत्ति घरेलु स्तरमा छ। व्यापारिक साझेदारहरूलाई प्रहार गर्नाले यी आधारभूत समस्याहरू समाधान गर्न असफल मात्र होइन, यसले अमेरिकी अर्थतन्त्रलाई हानि पु¥याउँछ र विदेशी आक्रोश र प्रतिकारलाई बढावा दिन्छ जसले क्षतिलाई थप जटिल बनाउँछ।
एक थोपा पानी
ट्रम्पले ट्यारिफले सरकारी राजस्व बढाउँछ भन्ने दाबी ठीकै छ । तर अन्य करहरूको तुलनामा यसले अकुशल रूपमा काम गर्छ। ट्यारिफभन्दा फरक, वैकल्पिक करका रूपहरूले ठूलो मात्रामा राजस्व संकलन गर्छन् र कम आर्थिक विकृतिहरू निम्त्याउँछन्—विशेष गरी ठूलो कर आधारमा कम कर दर लागू गर्ने करका रूपहरू । ट्यारिफले तिनीहरूलाई राजस्व स्रोतको रूपमा प्रतिस्थापन गर्न सक्ने कुनै उपाय छैन। उदाहरणका लागि, २०२४ आर्थिक वर्षमा अमेरिकी संघीय सरकारले कुल ६.४ ट्रिलियन डलर खर्च ग¥यो। तर २०२४ मा संयुक्त राज्य अमेरिकाले जम्मा ३.३ ट्रिलियन डलरको सामान आयात ग¥यो। सबै आयातित सामानमा १०० प्रतिशत ट्यारिफ लगाए पनि संघीय सरकारलाई वित्तपोषण गर्न पर्याप्त हुँदैन, र त्यस्तो स्तरको ट्यारिफले आयातलाई पनि गम्भीर रूपमा कटौती गर्नेछ, जसले अमेरिकी राजस्वलाई नाटकीय रूपमा घटाउँछ र अर्थतन्त्रमा ठूलो लागत निम्त्याउँछ।
यसको विपरीत, हालैका वर्षहरूमा संघीय सरकारको राजस्वको करिब ६० प्रतिशत व्यक्तिगत र कर्पोरेट आयकरबाट आएको छ। २०२४ मा अमेरिकीहरूको व्यक्तिगत आय, जुन कुल २४.७ ट्रिलियन डलर थियो, कर्पोरेट आयसँग मिलेर धेरै ठूलो कर आधार बनाउँछ र कर लगाउँदा आयात जति छिटो संकुचन हुँदैन। ट्यारिफको आर्थिक वृद्धिमा नकारात्मक प्रभावलाई छाडेर पनि, यदि ट्रम्पले ट्यारिफ राजस्व अधिकतम बनाउने शुल्कहरू सावधानीपूर्वक छनोट गरेर ५० प्रतिशतको आश्चर्यजनक ट्यारिफ दर लगाए भने, पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका विश्लेषकहरूका अनुसार, ट्यारिफले हालको अमेरिकी व्यक्तिगत र कर्पोरेट आयकरबाट उत्पन्न राजस्वको केवल ४० प्रतिशत मात्र ल्याउनेछ। यस्ता ट्यारिफको विकृत लागत धेरै ठूलो हुनेछ। र यो अनुमानले व्यापारिक साझेदारहरूको सम्भावित प्रतिकारलाई बेवास्ता गर्छ, जसले निर्यातलाई हानि पु¥याएर अमेरिकी आर्थिक वृद्धिलाई थप सुस्त बनाउन सक्छ।
ट्यारिफ समर्थकहरूले जवाफ दिन सक्छन् कि आयात शुल्क अन्य देशहरूले तिर्छन्, जबकि घरेलु करहरू अमेरिकीहरूले तिर्छन्। तर यो तर्कले ट्यारिफको उपभोक्ताहरूमाथिको वास्तविक प्रभावलाई बेवास्ता गर्छ। वास्तवमा, ट्रम्पको पहिलो कार्यकालका ट्यारिफहरूको धेरै स्वतन्त्र अध्ययनहरूले पत्ता लगाए अनुसार आयातकर्ताहरूले सीमा करको प्रभाव अमेरिकी व्यवसाय र घरपरिवारहरूलाई हस्तान्तरण गरे। अन्ततः, ट्यारिफ अमेरिकीहरूले तिरे, विदेशी कम्पनीहरूले होइन। ट्रम्पको नयाँ ट्यारिफ प्रस्तावहरूको व्यापक दायराले अमेरिकी उपभोक्ताहरूका लागि अझ बढी पीडादायी बनाउन सक्छ। तिनीहरूले संयुक्त राज्य अमेरिकाका दुई ठूला र नजिकका व्यापारिक साझेदारहरू, क्यानडा र मेक्सिकोमाथि प्रहार गर्छन्—जसबाट संयुक्त राज्य अमेरिकाले ऊर्जा उत्पादनदेखि खाद्य र अटोमोबाइल पार्टपुर्जाहरूसम्म आयात गर्छ।
घाटाको विकार
ट्रम्पले लामो समयदेखि विश्वास गरेका छन् कि अमेरिकी व्यापार घाटा भनेको अमेरिकीहरू अन्य देशहरूद्वारा ठगिइरहेका छन् भन्ने संकेत हो। धेरै अर्थशास्त्रीहरूले यो व्याख्या व्यापार असन्तुलनको गलत बुझाइलाई प्रतिबिम्बित गर्छ भन्ने मत राख्छन्। तर अमेरिकी व्यापार घाटा कम गर्नु राष्ट्रिय प्राथमिकता हो भन्ने विचार स्वीकार गर्दा, ट्यारिफले आयात घटाएर घाटा पनि कम गर्नेछ जस्तो देखिन्छ, जबसम्म निर्यातमा केही असर पर्दैन।
तर ट्यारिफको निर्यातमा प्रभाव पर्छ। उच्च अमेरिकी ट्यारिफले डलरको मूल्य बढाउँछ किनभने अमेरिकीहरूले आयातित सामान खरिद गर्न कटौती गर्छन्। र बलियो डलरले, बदलामा, विदेशीहरूले अमेरिकी निर्यातका लागि तिर्नुपर्ने मूल्य बढाउँछ, जसले तिनीहरूको प्रतिस्पर्धात्मकता घटाउँछ। ट्यारिफले विदेशी प्रतिकार पनि निम्त्याउँछ, जसले निर्यातलाई थप कमजोर बनाउँछ; ट्रम्पको नयाँ ट्यारिफले पहिले नै चीनलाई अमेरिकी सोयाबिन, कृषि उपकरण, गाडी, र तरल प्राकृतिक ग्यासको बिक्रीविरुद्ध आफ्नै ट्यारिफले प्रतिक्रिया जनाउन प्रेरित गरेको छ। यी कारणहरूले, अनुभवजन्य अध्ययनहरूले देखाएका छन्ः ट्यारिफ सामान्यतया व्यापार सन्तुलन परिवर्तन गर्न प्रभावहीन तरिका हो।
सबैभन्दा महत्वपूर्ण कुरा, ट्यारिफले व्यापार घाटालाई संचालित गर्ने आधारभूत अर्थशास्त्रीय कारकहरूलाई प्रभावित गर्दैन। कुनै देशको व्यापार सन्तुलन उसको बचत र लगानीको सन्तुलनद्वारा निर्धारण हुन्छ। कम बचत दर र उच्च लगानी दर भएको देश, जस्तै संयुक्त राज्य अमेरिका, लगानीको वित्तपोषणका लागि विदेशबाट पूँजी प्रवाहको आवश्यकता भएको कारणले व्यापार घाटा हुने लगभग निश्चित छ। अमेरिकीहरूले आफ्ना सामान किनेर कमाएका डलरहरू अन्य देशका मानिसहरूले अमेरिकी सम्पत्तिहरू, जस्तै स्टक, बन्ड, र रियल स्टेट खरिद गर्न प्रयोग गर्छन्, न कि अमेरिकामा निर्मित उत्पादनहरू प्रयोग गर्न ।
जबसम्म अमेरिकी बचत लगानीको तुलनामा बढ्दैन, ट्यारिफले व्यापार घाटालाई प्रत्यक्ष रूपमा कम गर्दैन। वास्तवमा, यदि ट्यारिफले कारखानाहरूलाई संयुक्त राज्य अमेरिकामा फिर्ता ल्याएर थप विदेशी लगानी निम्त्याउँछ भने—ट्रम्पको ट्यारिफ व्यवस्थाको अर्को घोषित लक्ष्य—त्यो पूँजीको प्रवाहले व्यापार घाटालाई ठूलो बनाउन सक्छ किनभने डलर भएका विदेशीहरूलाई सामान वा सेवाहरूभन्दा अमेरिकी सम्पत्तिहरू किन्न थप प्रोत्साहन प्राप्त हुन्छ।
यदि व्यापार घाटा कम गर्नु ट्रम्पको लक्ष्य हो भने, उनको प्रशासनले संघीय बजेट घाटा संकुचन गर्नमा आफ्नो प्रयासहरू केन्द्रित गर्नु राम्रो हुन्छ, जुन अमेरिकी अर्थतन्त्रमा अत्यधिक खर्चको प्रमुख स्रोत हो। यदि यो सफल भयो भने, संघीय उधारो घट्नेछ, ब्याजदरहरू कम हुनेछन्, र विदेशी पूँजी अमेरिकी सम्पत्तिहरूप्रति कम आकर्षित हुनेछ।
अन्य नीतिहरूले पनि बचत बढाउन सक्छ। अमेरिकी कर संहिताले सामान्यतया बचतभन्दा उपभोगलाई प्रोत्साहन गर्छ; यसको प्रोत्साहनको सन्तुलन परिवर्तन गर्नाले व्यापार घाटालाई संचालित गर्ने पूँजी प्रवाह कम गर्न मद्दत गर्नेछ। थप कठोर दृष्टिकोण विदेशीहरूको अमेरिकी सम्पत्ति खरिदमा कर लगाउन सकिन्छ, जसले व्यापार घाटा कम गर्नेछ तर अमेरिकी ब्याजदरहरू उच्च बनाउनेछ, जुन ट्रम्पलाई समेत स्वीकार्य नहुन सक्ने व्यापारिक संतुलन हो।
जस्तालाई तेस्तै गर्छौ…
ट्रम्प ट्यारिफमा पारस्परिकता चाहन्छन्ः “यदि उनीहरूले हामीलाई शुल्क लगाउँछन् भने, हामीले उनीहरूलाई शुल्क लगाउँछौं,“ उनले फेब्रुअरीमा भने; उनले अप्रिलमा पारस्परिक ट्यारिफको योजना जारी गर्ने वाचा गरेका छन्। उनको फेब्रुअरीको पारस्परिक व्यापार र ट्यारिफ मेमोरान्डमले यो विश्वास झल्काउँछ कि अन्य देशहरूले अमेरिकी निर्यातमा संयुक्त राज्य अमेरिकाले उनीहरूको सामानमा लगाउने भन्दा उच्च ट्यारिफ लगाउँछन्। यो प्रायः सत्य हो, तर उनले र उनका अधिकांश समर्थकहरूले विश्वास गरेको जति ठूलो अन्तरले होइन। उदाहरणका लागि, युरोपेली संघका देशहरूले अमेरिकी उत्पादनहरूमा औसतमा ५.० प्रतिशत ट्यारिफ लगाउँछन्, जुन युरोपबाट आएका उत्पादनहरूमा अमेरिकाले लगाउने औसत ट्यारिफ ३.४ प्रतिशतभन्दा धेरै टाढा छैन।
संयुक्त राज्य अमेरिका र यसका व्यापारिक साझेदारहरूले लगाउने ट्यारिफहरू समान छैनन् किनभने, ऐतिहासिक रूपमा, अमेरिकी वार्ताकारहरूले संयुक्त राज्य अमेरिका र यसका व्यापारिक साझेदारहरूले आफ्ना ट्यारिफ स्तरहरूमा गरेका परिवर्तनहरूमा पारस्परिकताको लागि प्रयास गरे—तर ट्यारिफहरूको समानताको लागि होइन। १९४० देखि १९९० को दशकसम्म, जब संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू, र अन्यले एकअर्कामाथि लगाउने ट्यारिफहरू कटौती गर्न सहमत भए, ती कटौतीहरूबाट प्राप्त बजार पहुँचको परिवर्तन सन्तुलित थियो, तर उत्पादन–दर–उत्पादन आधारमा अन्तिम ट्यारिफहरू थिएनन्।
अब, ट्रम्पले उच्च अमेरिकी ट्यारिफको धम्कीलाई अन्य देशहरूलाई उनीहरूको ट्यारिफ अमेरिकी स्तरमा घटाउन बाध्य पार्ने वार्ताको चिप (वा हतियार) को रूपमा देख्छन्। तथापि, ट्रम्पको पारस्परिकताको चिन्ता इमानदारीपूर्वक गरिएको छ कि छैन भन्ने प्रश्न उठाउनु उचित देखिन्छ । धेरै देशहरूले पहिले नै संयुक्त राज्य अमेरिकाको तुलनामा केही सामानहरूमा कम ट्यारिफ राख्छन्ः जस्तै जापानको अटोमोबाइल, युरोपको ट्रक, न्युजिल्यान्डको डेरी उत्पादनहरू। ट्रम्पको पारस्परिकताप्रतिको प्रतिबद्धताले ती ट्यारिफहरूसँग मेल खाने इच्छुकता समावेश गर्छ भन्नेमा शंका छ।
कारखाना सेटिङहरू
ट्रम्पको नजरमा, व्यापार असन्तुलन ठीक गर्नु र रोजगारी बढाउनु अभिन्न छन्। तर ट्यारिफले कारखाना रोजगारी सिर्जना गर्न सधैं सहयोग गर्दैन। तिनले घरेलु उत्पादनलाई सब्सिडी दिन्छन्, तर रोजगारी होइन। आधुनिक उत्पादनमा मेसिन, रोबोट र प्रविधिको प्रयोग बढी हुन्छ, मानव श्रम कम। ट्यारिफले उपभोगमा करको रूपमा काम गर्छ, जसले अन्तिम उत्पादनको मूल्य बढाउँछ र अन्य उद्योगका कामदारहरूलाई हानि पु¥याउन सक्छ।
भविष्यमा एक्लै
अन्ततः, ट्रम्पले महत्वपूर्ण उद्योगहरूमा घरेलु उत्पादनलाई प्रोत्साहन गर्न ट्यारिफ (भन्सार शुल्क) प्रयोग गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई बलियो बनाउने आशा राखेका छन्। उनले सेमिकन्डक्टरहरूमा सम्भावित ट्यारिफहरूको कुरा उठाएका छन्, जसमा ताइवान र दक्षिण कोरियाबाट आयात हुने सामानहरू पनि समावेश छन्। विदेशी चिपहरूमा लागू गरिएका ट्यारिफहरूले मूल्यहरू बढाउँदा, भविष्यमा अमेरिकी सेमिकन्डक्टर क्षमतामा लगानीलाई प्रोत्साहन गरे पनि, आजका सेमिकन्डक्टर प्रयोगकर्ताहरूलाई ठूलो धक्का दिन सक्छ। १९८० को दशकको अन्त्यमा संयुक्त राज्य अमेरिकाले घरेलु प्रविधि उत्पादनलाई प्रोत्साहन गर्न यस्तै संरक्षणवादी रणनीति अपनाउँदा, यसले आफ्नो ल्यापटप उद्योगलाई एशियातिर धकेल्यो, जहाँ श्रम र अन्य कम्पोनेन्टहरूको लागत कम थियो। आज, यो उदीयमान एआई (कृत्रिम बुद्धिमत्ता) उद्योगका लागि विशेष रूपमा समस्याजनक हुन सक्छ, जसलाई डाटा सेन्टरहरू सञ्चालन गर्न ठूलो मात्रामा सेमिकन्डक्टरहरू आवश्यक पर्छ।
रक्षा र राष्ट्रिय सुरक्षा क्षेत्रहरूमा, सामान खरिदकर्ताहरू कहिलेकाहीं उत्पादकहरू जत्तिकै महत्वपूर्ण हुन्छन्। संयुक्त राज्य अमेरिकाको प्राविधिक आपूर्ति शृंखलालाई चीनबाहिर विविधीकरण गर्ने लक्ष्य राखिएका लक्षित सब्सिडी नीतिहरू, जस्तै चिप्स एक्ट ले सेमिकन्डक्टर आवश्यक पर्ने कम्पनीहरूलाई आयात ट्यारिफभन्दा कम खर्चिलो हुन सक्छ, यद्यपि औद्योगिक नीतिले सरकारलाई “विजेताहरू छनोट“ गर्न संलग्न हुनुपर्ने आवश्यकता राख्छ।
यहाँ सहयोगीहरू र साझेदारहरूसँगको सब्सिडी सहकार्यले जोखिम विविधीकरण गर्न, लागत साझेदारी गर्न र साझा शत्रुहरूविरुद्ध सामूहिक संरक्षण सिर्जना गर्न मद्दत गर्न सक्छ। बाइडेन प्रशासनले औद्योगिक नीतिलाई समन्वय गर्ने व्यावहारिक पक्षहरूलाई विभिन्न तरिकाले सम्बोधन ग¥यो। चिपहरूका लागि, यसले सहयोगीहरूसँग मिलेर चीनबाहिर थप लचिलो सेमिकन्डक्टर उद्योग विकास गर्ने काम ग¥यो, जसमा जर्मनीको ड्रेस्डेन, जापानको कुमामोतो र फिनिक्समा नयाँ चिप–निर्माण सुविधाहरूको निर्माणलाई सह–वित्तपोषण गरियो। लिथियम, कोबाल्ट र ग्राफाइट जस्ता महत्वपूर्ण खनिजहरूका लागि, संयुक्त राज्य अमेरिकाले मिनेरल्स सेक्युरिटी पार्टनरशिप विकास ग¥याmे जसले गर्दा युरोपेली संघ, जापान, कोरिया र अन्य समान विचार राख्ने देशहरूसँग स्रोतहरू संकलन गरेर चीनबाहिर खानी र प्रशोधनलाई प्रोत्साहन दिइयो। ट्रम्पले, हालसम्म, यस तरिकाले सहयोगीहरूसँग साझेदारी गर्न इच्छुक देखिएका छैनन्, र मार्चमा कांग्रेसलाई दिएको संयुक्त सम्बोधनमा उनले चिप्स एक्ट लाई खारेज गर्न आह्वान गरेका छन् ।
आत्म–पराजय स्वीकार
ट्यारिफले केही राष्ट्रिय लक्ष्यहरू हासिल गर्न प्रयोग गर्न सकिन्छ, तर तिनीहरू ती प्राप्त गर्नका लागि प्रायः उत्तम उपकरण होइनन्। तिनीहरूले काम गरे पनि, तिनीहरू प्रायः अकुशल हुन्छन् र ठूलो पाश्र्व क्षति निम्त्याउँछन्। तिनीहरूले निम्त्याउने विदेशी प्रतिकारले सुरुमा प्राप्त हुन सक्ने कुनै पनि लाभलाई उल्टाउन सक्छ। र अर्थशास्त्रीहरू विशेष रूपमा ट्यारिफलाई एकै पटक धेरै उद्देश्यहरू प्राप्त गर्न प्रयोग गर्ने कुरामा सशंकित छन्, जुन ट्रम्पले स्पष्ट रूपमा गर्न चाहन्छन्।
क्यानडा र मेक्सिकोविरुद्ध पछिल्लो ट्यारिफ लागू गरेको ४८ घण्टा नपुग्दै ट्रम्पले तिनीहरूलाई अधिकांश रूपमा फिर्ता लिए। यो बारम्बार लागू गर्ने –हटाउने ट्यारिफ नीति ट्रम्पले चाहेका कुनै पनि उद्देश्यहरू प्राप्त गर्नका लागि विशेष रूपमा खराब रूपमा डिजाइन गरिएको छ। स्टक बजारले नकारात्मक प्रतिक्रिया देखाएको छ, र प्रमुख अमेरिकी उद्योगहरू आपूर्ति शृंखलामा रहेका कम्पनीहरूले ट्यारिफ पुनः लागू हुँदा आउन सक्ने अचानक लागत वृद्धिलाई धान्न नसक्ने सम्भावित अराजकताबाट डराएका छन्। यदि प्रशासनले अन्ततः ट्रम्पका अन्य धेरै धम्कीहरूलाई कार्यान्वयन ग¥यो भने, प्रभाव उनले मार्चको सम्बोधनमा भविष्यवाणी गरेको “सानो अशान्ति“ भन्दा कहीं धेरै विघटनकारी हुनेछ।
फरेन अफेयर्सबाट
प्रतिक्रिया दिनुहोस्