काठमाडौं २६ फागुन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिकातर्फ गुडिरहेको भे २ त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभयो ।
ट्र्याक्टरमा रहेका चार जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य तीन जना सकुशल रहेका छन् ।
त्यस्तै बझाङको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा हिजो भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्वामीकार्तिक खापर–२ फयालगाउँका अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर भण्डारीको ज्यान गएको हो ।








प्रतिक्रिया दिनुहोस्