काठमाडौं, २६ फागुन । डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेको एक महिनाभन्दा अलि बढी भएको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पले ठूलो संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, जसले स्वदेश र विदेशमा व्यापक प्रभाव पारेको छ । युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) को निलम्बनले अमेरिका र विश्वभर झन् बहस सिर्जना गरेको छ । यो निर्णयले युएसएआईडीमार्फत अमेरिकी सहायता प्राप्त गर्ने धेरै देशहरूलाई असर गरेको छ । सुरुमा युएसएआईडीका गतिविधिहरू तीन महिनाकालागि स्थगन गरिएको छ र युएसएआईडीमा कार्यरत सबै अमेरिकी कर्मचारीहरूलाई फिर्ता बोलाइएको छ ।
राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी इलोन मस्कले युएसएआईडीलाई ‘अपराधी संगठन’ भएको घोषणा गरिदिएका छन्। ट्रम्प–मस्को रणनीति हेर्दा तीन महिनापछि पनि यो एजेन्सी पुनर्जीवित हुने सम्भावना कम छ । पेरिस जलवायु सम्झौता, विश्व स्वास्थ्य संगठन लगायत अन्य अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूबाट पनि अमेरिका पछि हट्ने ट्रम्पको निर्णयको विश्वव्यापी प्रभाव पर्ने देखिन्छ । ट्रम्पले अघि सारेको हरेक विषयमा व्यापार खोज्ने कर नितिले कस्तो रुप लिन्छ ? के साँच्चिनै चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ’ट्यारिफ’ को बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ’जस्तोसुकै युद्ध’का निम्ति तयार रहेको बताउदै गर्दा ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र ’व्यापार युद्ध’को सँघारमा पुगेका हुन त ? ट्रम्पको कदमको बदलामा चीन लगाएत अन्य देशले कस्तो रणनीति लिन्छन् । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुमा अमेरिकाले शुल्क बढाएर लागू गरेपछि संयुक्त राज्य अमेरिका र यसका सबैभन्दा ठूला आर्थिक साझेदारहरूबीच व्यापार युद्ध बढेको छ। अमेरिकाले शुल्कहरू बढाएर लागू गरेपछि बेइजिङ र ओटावा यसको प्रतिकारमा उत्रिएका छन्। विश्लेषकहरूले सन् १९४० को दशकपछि सबैभन्दा ठूलो आयात शुल्कहरू लगाएको भन्दै गरेको प्रतिक्रियामा एसिया र युरोपका बजारहरूमा गिरावट आएको छ। ट्रम्पले फेब्रुअरीमा प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा र मेक्सिकोमाथि गैरकानुनी आप्रवासन र लागुऔषध तस्करीलाई रोक्न असफल भएको आरोप लगाउँदै एकमुस्ट २५ प्रतिशत शुल्क घोषणा गरेका थिए। त्यसपछि स्थगित पनि गरेका थिए ।
बेइजिङले ‘अमेरिकाद्वारा एकतर्फी शुल्क लगाउने’ कार्यलाई निन्दा गर्दै संयुक्त राज्य अमेरिकाबाट विभिन्न कृषि आयातमा १० र १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ। विशेषज्ञहरूले बढेका आयात लागतले उपभोक्ताका लागि मूल्य बढाउन सक्ने र यसले मुद्रास्फीति कम गर्ने प्रयासलाई जटिल बनाउने चेतावनी दिएका छन् । निश्चित मुलुकबाट वस्तु तथा सेवा आयात गर्दा भन्सार कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय डब्लूटीओको उद्देश्य र सिद्धान्तविपरीत भएको देखिन्छ । हरेक मुलुकले यसरी नै मनपरी भन्सार शुल्क तोक्दै जाने हो भने विश्व अर्थतन्त्रमा ट्रेड वार (व्यापार युद्ध) को अवस्था आउने छ । यस्ता प्रवृत्ति बढ्दै जाँदा विश्व अर्थतन्त्र संरक्षणवादतर्फ उन्मुख हुने देखिन्छ ।
ट्रम्पले गरेका धेरैजसो कार्यहरू आफ्नो चुनावी अभियानका क्रममा गरेका वाचाहरूसँग मिल्दोजुल्दो छन् । उनले ‘मेक अमेरिका ग्रेट अगेन’ ः अर्थात् ‘अमेरिकालाई पुन महान बनाऔ’ भन्ने नाराको एक अभिन्न अंगको रुपमा अर्थाइएको खर्च कटौतीका लागि पनि थुप्रै कार्यहरू घोषणा गरेका छन् । उनको अभियानले संयुक्त राज्य अमेरिका आर्थिक रुपले पहिला भन्दा कम्जोर भएको छ र अमेरिकालाई पुन शक्तिशाली देशको रूपमा पुनर्जीवित गर्न आवश्यक छ भन्ने संकेत बुझन सकिन्छ । ट्रम्पको यो नीति अमेरिकालाइ महान पक्कै बनाउँदैन उल्टो विश्वका अन्य देशको अमेरिकाप्रतिको विश्वास र विश्वसनीयता माथि प्रश्नचिन्ह खडा गरेको छ । यो सत्य हो कि विश्वव्यापी संलग्नता र अन्तरास्ट्रिय प्रतिबद्धताहरूबाट पछि हट्ने नीतिले अमेरिकी प्रतिष्ठा, शक्ति र विश्वसनीयतालाई माथि उठाउन सक्दैन, बरु यसले क्षीण बनाउँछ । भारत अहिले पाँचौं ठूलो अर्थतन्त्र र क्षेत्रीय शक्ति हो । चीनको अभूतपूर्व वृद्धि अर्को कारक हो जसले अन्तर्राष्ट्रिय राजनीतिमा भारतलाई उच्च भूमिका दिएको छ । चीनको उदयबाट खुसी नभएका अन्तर्राष्ट्रिय शक्तिहरू विशेष गरी संयुक्त राज्य अमेरिकाले वर्तमान भूराजनीतिक परिप्रेक्ष्यमा चीनलाई रोक्न र कमजोर बनाउन भारतसँग गठबन्धन र सहयोग गर्न खोजिरहेका छन् । भारतको सक्रिय सहयोग र भूमिकाबिना अमेरिकाले चीनको उदयलाई रोक्न सक्दैन । भारत पनि चीनको विश्वव्यापी शक्तिका भएको सहज मानेको छैन ।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेसँगै विश्व व्यापार शृंखला नै तनावग्रस्त बनेको छ । आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्व व्यापार संगठन (डब्लूटीओ) को अवधारणाविपरीत ट्रम्पले विदेशी वस्तुमा चर्को आयात कर लगाइरहेका छन। प्रतिक्रियास्वरूप अन्य मुलुकले पनि अमेरिकी उत्पादनमा कर बढाउन थालेका छन्। यसले व्यापार मात्र होइन, अहिले अभ्यासमा रहेको आर्थिक मोडल नै भताभुंग हुने संघारमा पुगेको छ ।
डोनाल्ड ट्रम्पको यो दोस्रो कार्यकाल हो । २०१७ देखि २०२१ सम्मको उनको पहिलो कार्यकाल अन्य अमेरिकी राष्ट्रपतिहरु भन्दा केहि मामिलामा फरक थियो । डोनाल्ड ट्रम्प सायद पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसले आफ्नो पहिलो कार्यकालमा युद्ध सुरु गरेनन् ।
अब, उनले युद्ध अन्त्य गर्ने र विश्वमा शान्ति प्रवद्र्धन गर्ने वाचा गरेका छन् । ट्रम्पले सुनिश्चित गर्न खोजेको अर्को कुरा अन्य देशहरूसँग पारस्परिक व्यापार हो । उनले स्पष्ट पारेका छन् कि यदि कुनै देश आफ्ना सामानहरूमा कम कर चाहन्छन् भने उनीहरूले अमेरिकी निर्यातमा पनि भन्सार घटाउनुपर्छ । अर्को कुरा अमेरिकी सहयोगीहरूले आफ्नो अर्थतन्त्र र रक्षा क्षमताहरूलाई बलियो बनाउन आवश्यक छ भन्ने ट्रम्प को नीति देखिन्छ ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो हितको रक्षा गर्न सकून् । ट्रम्पले आफ्नो चुनावी अभियानमा धेरै कुराको वाचा गरेका थिए। अब युद्ध अन्त्य गर्ने र विश्वमा शान्ति कायम गर्नेलगायतका आफ्ना वाचाहरूलाई व्यवहारमा उतार्न उनी कसरी अगाडि बढ्छन्, त्यो समयले बताउने छ ।








प्रतिक्रिया दिनुहोस्