पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा आधारभुत विद्यालयलाई सहारा युकेद्धारा निर्मित पुस्तकालय हस्तान्तरण गरिएको छ । बेलायतमा रहेर नेपालको शिक्षा र खेलकुद त्यसमा पनि फुटबलको क्षेत्रमा सहयोग गर्दै आइरहेको सहारा युकेले २४ औं आहा रारा गोल्डकपको अवसरमा पोखरा आइपुुगेको अवस्थामा सहारा आधारभुत विद्यालयमा पुस्तकालय निर्माण गरी हस्तान्तरण गरेको हो ।
कुल तीन लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुस्तकालय सहारा युकेका अध्यक्ष कृष्ण गुरुङको नेतृत्वमा एक कार्यक्रमका बीच सहारा आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली र विद्यालयका प्रध्यानाध्यापक लोचना कुमारी अधिकारीलाई पुस्तकालय हस्तान्तरण गरिएको हो ।
पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले सहारा क्लबले बेलायतमा रहेतापनि आफ्नो जन्मभुमिमा केही गर्नुपर्छ भन्ने अभिप्रायका साथ नेपालमा शिक्षा र फुटवलको क्षेत्रमा सहयोग गर्दै आइरहदा यो पटक सहारा आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको बताए ।
२०५३ सालमा स्थापना भएको सहारा आधारभुत विद्यालय विभिन्न संघ संस्था तथा स्थानिय तहको सहयोगमा शिक्षामा गुणस्तर प्रदान गरिरहेको आफुहरुले थाहा पाएपछि सहारा युकेको तर्फबाट पुस्तकालय स्थापना गरी विद्यार्थीहरुको शिक्षामा थप टेवा प्रदान गर्ने र आगामी दिनमा पनि सहारा आधारभुत विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखरा बसपार्क आसपासमा बसोबास गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको सहारा आधारभुत विद्यालय पछिल्लो समय विभिन्न संघ संस्था र वडाको सहयोगमा शिक्षाको गुणस्तरमा बृद्धि हुँदै आएको बताए । शिक्षाको क्षेत्रमा आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यसमा कुनै कमी हुन नदिने मर्सानीको भनाइ रहेको थियो ।
सहारा आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमुधि युकेका अध्यक्ष जुम काजी गुरुङ, सहारा क्लबका अध्यक्ष केशवराज बराल, विद्यालयका प्रध्यानाध्यापक लोचना कुमारी अधिकारी लगायतले बोलेका थिए ।








प्रतिक्रिया दिनुहोस्