काठमाडौं २९ माघ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले जंगली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भ्रष्टाचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गएका छन् ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरे । आजको बैठकमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले विद्यमान वन ऐनले जंगली जनावरको आक्रमणबाट पीडित हुनेलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था नरहेकाले सोसम्बन्धी व्यवस्था गरिनुपर्ने बताए ।
सांसद अन्जनी श्रेष्ठले जंगली जनावरको आक्रमण बढेको विषय संसद्मा उठाइन् । सांसद टेकबहादुर गुरुङले सुक्खायाममा वनमा डढेलोको जोखिम बढी हुने भएकाले त्यसको न्यूनीकरण र आगलागी नियन्त्रणमा तदारुकता देखाउनुपर्नेमा जोड दिइन् ।
सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद अस्माकुमारी चौधरीले पनि स्वर्गद्वारी गुठी पीडित किसान काठमाडौँ र जिल्लामा समेत आन्दोलन गरिरहेकाले उनीहरुका माग सुनुवाइ हुनुपर्ने धारणा राखिन् ।
सांसद अम्बिका बस्नेतले काठमाडौं उपत्यकामा बालबालिका हराउने र अपहरणमा पर्ने घटना सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरिन् । सांसद अम्मरबहादुर थापाले सरकारले पुँजीगत बजेट खर्च बढाउनुपर्नेमा जोड दिइन् । बजेट विनियोजनमा कुशलता नहुँदा खर्च गर्न सक्ने ठाउँमा बजेट नहुने तर खर्च गर्न नसक्ने ठाउँमा बजेट दिने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनले बताइन् । जाजरकोट भूकम्प पीडितलाई राहत तथा क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउन पनि उनले माग गरिन् ।
सांसद अमृतादेवी अग्रहरीले विपक्षी दलहरुले सरकारले गरेका राम्रा कामको पनि विरोध गर्ने गरेको आरोप लगाइन् । अर्का सांसद अशोककुमार चौधरीले मुलुकलाई कम्लरी मुक्त घोषणा गरिए पनि अझै यो कुप्रथालाई राज्य तहबाटै संरक्षण भइरहेको आरोप लगाए ।








प्रतिक्रिया दिनुहोस्