ट्रम्पविरोधी ऊर्जा कहाँ हरायो?
जब डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति रूपमा सपथ ग्रहण गर्दै थिए, बाहिर निस्कन धेरै चिसो थियो। आर्कटिक चिसोले देशको धेरैजसो भागलाई ढाकेको थियो, र यस पटक ट्रम्पले क्यापिटल रोटुन्डामा इतिहास बनाउँदै थिए। हजारौं समर्थकहरू नजिकैको एउटा एरेनामा भेला भई पर्दामा उनको राष्ट्रलाई गरेको सम्बोधन सुन्दै थिए; बाहिरी परेड आयोजना गरिएको थिएन। उनका आलोचकहरूले भरिने आशा गरिएका सडकहरू प्रायः खाली थिए, जसको कारण मौसमलाई मान्न सकिन्थ्यो।
तर यदि आठ वर्षअघि वाशिङ्टन यति जाडो भएको भए, उदारवादीहरू हिमशीत सहेर पनि विरोध गर्न तयार हुने थिए भन्ने कल्पना गर्न गाह्रो हुँदैन। ट्रम्पको पहिलो सपथ ग्रहणलाई सन् २०१७ मा, महिला मार्चद्वारा प्रत्युत्तर दिइएको थियो, जसले केवल वाशिङ्टनमै झन्डै ५ लाख मानिसहरूलाई आमन्त्रण गरेजस्तो प्रतित हुन्थयो । त्यस आन्दोलनले आफ्ना मुख्य आयोजकहरूलाई क्षणिक आइकन बनायो र त्यो समयसम्म अमेरिकाको इतिहासमा एकै दिनमा भएको सबैभन्दा ठूलो प्रदर्शन बन्यो।
त्यसबेला ट्रम्प एक संकट र एक जुनून थिए। उनको प्रशासनविरुद्धको “प्रतिरोध“ एउटा विशिष्ट प्रकारको उदारवादको उच्च विन्दु थियो—इमान्दार, सम्पूर्ण, आक्रोशले भरिएको र कार्यको(केही गर्ने अभिलाषा) तृष्णाले प्रेरित। हरेक डेमोक्र्याट—पूर्वराष्ट्रपतिदेखि लिएर जुनियर स्टाफरसम्म—सँग ट्रम्पको विजय, हिलारी क्लिन्टनको असफलता, र पार्टीको भविष्यबारे ठोस धारणा थियो। दोषलाई भाग लगाइयो—जेम्स कोमी, रुसीहरू, बर्नी सान्डर्स, जिल स्टाइन, श्वेत श्रमिक वर्ग। हरेक डेमोक्र्याटसँग ट्रम्पलाई कसरी रोक्ने योजना थियो—ताकि उनको राष्ट्रपतिकाललाई कहिल्यै सामान्य नमानियोस्।

ट्रम्प राष्ट्रपति बनेको केही महिनामै, टेक्सासका प्रतिनिधि अल ग्रीनले उनीमाथि महाभियोगको माग गरे, र डेमोक्र्याटहरूको आधारभूत तहका समर्थकहरूले नयाँ, विवादास्पद राष्ट्रपतिलाई चाँडो हटाउन सकिन्छ भन्ने आशा राखे। दिनहुँजसो नयाँ प्रदर्शन वा मार्चको आह्वान हुन्थ्यो। ट्विटर र इन्स्टाग्राम ट्रम्पविरोधी सक्रियताको केन्द्र बने। मुद्दाहरू छिट्टै स्थापित भए— आप्रवासीहरूको समर्थन (जसले आप्रवासन तथा सीमाशुल्क प्रवर्तन एजेन्सी (आइसीइ) खारेज गर्ने अभियानमा रुपान्तरण गर्यो), महिलाको रक्षा (जसले महिला मार्च र पछि ३मीटु आन्दोलनलाई बलियो बनायो), वा ब्ल्याक लाइभ्स म्याटरलाई निरन्तरता दिने अभियान (जसले जर्ज फ्लोइडको २०२० को हत्यापछि उच्च बिन्दुमा पुग्यो)।
२०१० को दशकमा ट्रम्पविरुद्धको प्रतिरोध—त्यहाँसम्म फैलिएको, रोक्नै नसकिने जस्तो देखिने आन्दोलन जसमा बुश रिपब्लिकनदेखि बर्नी समाजवादीसम्म सबै सामेल थिए—आधुनिक युगमा बिरलै देखिएको परिघटना थियो। त्यो बेला जति उल्लेखनीय लाग्थ्यो, अहिले फर्केर हेर्दा झन् रोचक देखिन्छ। यही समयमा सारा हकाबी स्यान्डर्स, ट्रम्पकी प्रेस सचिव, लाई कुनै रेस्टुरेन्टमा सेवा दिनु उचित हो कि होइन भन्ने विषयमा बहस चल्थ्यो।
ट्रम्पको आन्दोलन पनि उत्तिकै जोसिलो हुन सक्थ्यो। उनका समर्थकलाई आकर्षित गर्ने स्पष्ट नीतिगत तत्वहरू थिए—जातीय राष्ट्रवाद (नेटिभिजम), संरक्षणवाद, अभिजात्य वर्गविरुद्ध आक्रोश। साथै, ट्रम्पले पुरानो रिपब्लिकन नीतिका अलोकप्रिय भागहरू—जस्तै सामाजिक सुरक्षा कटौती र विदेशमा नयाँ युद्ध थोपर्ने नीति—त्याग्ने बुद्धिमानी देखाए। तर उनको मुख्य आकर्षण व्यक्तिगत नै रह्यो; मागा हुनु भनेको लगभग एउटा पहिचान समूहमा समाहित हुनुजस्तै हो। ट्रम्पलाई कट्टर रूपमा पछ्याउनु भनेको उनका विशेष प्राथमिकताहरूको समर्थन गर्नु र जहाँ सम्भव छ, दुश्मनविरुद्ध संघर्ष गर्नु हो—उत्पादन बहिष्कारदेखि सडक प्रदर्शनसम्म, सामाजिक सञ्जालदेखि एनएएससीएआर नारासम्म, विद्यालय बोर्ड बैठकदेखि चुनाव स्थलसम्म।
यस युगलाई परिभाषित गर्नका लागि वामपन्थी लेखक र शैक्षिक अन्थोन जेगरले ‘हाइपरपोलिटिक्स’ भन्ने शब्द प्रयोग गरेका छन्। यसले २०१० को मध्यदेखि २०२० को सुरुवातसम्मको अवधिलाई जनाउँछ, जब राजनीति सार्वजनिक बहसमा हाबी थियो। त्यो उच्च–दाउ भएको, सम्पूर्णतालाई समेट्ने राजनीतिक मनोदशाको समय थियो, जहाँ हरेक मानिसले राम्रो र खराबबीचको संघर्षलाई बाहिर देख्थे—टिकी टर्च बोकेका अतिदक्षिणपन्थी वा सडकमा हिँड्ने ‘एन्टीफा’ कार्यकर्ताहरू। सांस्कृतिक वातावरण स्थायी रूपमा विस्फोटक बनेको थियो। कतिपय समयमा, यो प्रदर्शन कलाको एउटा रूप थियो, र गहिरो रूपमा अनुकरणीय (मिमेटिक)। ‘मागा’ टोपी र (पुसीह्याट) उही परम्पराका दुई रूप थिए, जसले अनजान व्यक्तिलाई समेत तपाईंका मूल्यहरू बताइदिन्थे।

तर २०२५ मा सबै कुरा फरक छ। प्रदर्शनहरू तुलनात्मक रूपमा शान्त छन्। थोरै मात्र डेमोक्र्याटहरू अब महाभियोगको कुरा गर्छन् वा नव–फासिवादबारे पुरानै शैलीमा त्रास प्रकट गर्छन् — यतिसम्म कि यदि इलोन मस्कले नाजीजस्तो इशारा गरिरहेका भए पनि। ट्रम्पको सम्पूर्ण तमासा हुँदाहुँदै पनि, अन्ततः यो सपथग्रहण समारोह एउटा साधारण घटना मात्र रह्यो।
डेमोक्र्याटहरू यस पटक ट्रम्पको पुनरागमनलाई पहिले जस्तो पीडादायी वा आक्रोशपूर्ण रूपमा लिइरहेका छैनन् न त उनीहरू आफ्नै पार्टीको भविष्यलाई लिएर छट्पटी गरिरहेका छन्। आठ वर्षसम्म ट्रम्पको प्रतिरोध गरेको वामपन्थी पक्षले अहिले हेरिरहेको छ कि वास्तवमा, प्रत्येक आमनिर्वाचनमा ट्रम्पको मत हिस्सा बढिरहेको छ। त्यसैले, उनीहरू पुनःसंरचना गरिरहेका छन्। केही प्रगतिशीलहरू ट्रम्पले आफ्ना नीतिगत लक्ष्यहरू अंगीकार गरेमा सहयोग गर्न तयार रहेको सङ्केत दिएका छन्, जबकि मध्यमार्गीहरू रिपब्लिकनहरूले धेरै सांस्कृतिक मुद्दाहरूमा आफूलाई उछिनेकोमा चिन्तित छन्।
पहिलो कार्यकालमा जुन सीमाबारेका नीतिहरूलाई फासिवादी भनेर आलोचना गरिएको थियो, ती क्रमशः स्वीकार गरिँदै छन्, वा कम्तीमा प्रतिरोध गरिँदैन। ट्रम्पको “सामान्यीकरण” सम्बन्धी पुरानो बहस समाप्त भइसकेको छ; जहिल्यै ट्रम्पसँग दुरी बनाएका व्यवसायहरू अहिले उनलाई एक साधारण राष्ट्रपति जसरी खुलेर स्वीकार गरिरहेका छन्।
रिपब्लिकनहरू अझै पनि ट्रम्पमै केन्द्रित छन्, तर उनीहरूको राजनीति पनि केही संयमित देखिन्छ—कम्तीमा २०१० को दशकमा जब अति–दक्षिणपन्थ उदय भइरहेको थियो र मिलो यानोपोलस मिडियाका क्यामेराहरूका लागि देखासिकी गरिरहेका थिए, त्यसको तुलनामा। रिपब्लिकन गठबन्धन फराकिलो भएसँगै, त्यसको “न्यायसंगत विद्रोह” (राइटियस इन्सर्जेन्सी) को भावना कायम राख्न कठिन भइरहेको छ।

अमेरिकी समाज अहिले पनि विभाजित छ। तर राजनीति पूर्ण रूपमा व्यक्तिगत हुने, वा राजनीतिक प्रदर्शन आवश्यक हुने धारणा धमिलो हुँदै गएको छ। हामी ‘हाइपरपोलिटिक्स’ को युगबाट बाहिर निस्कँदैछौं।
सबै ज्वाला—जतिसुकै तातो वा विस्फोटक भए पनि—अन्ततः निभ्छ।
हाइपरपोलिटिक्सको युगलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण तरिका भनेको त्यसबेला हावी भएका मुद्दाहरूलाई मानिचियन ( धार्मिक द्वैतवादी (मनिकियन) दृष्टिकोणबाट हेर्न सकिन्छ। यी मुद्दाहरू नैतिक थिए; तीमध्ये नायक र खलनायक स्पष्ट रुपमा परिभाषित गरिएका थिए। सबैभन्दा प्रमुख रूपमा ट्रम्पका विरुद्ध संघर्ष थियो, जुन पहिलो र मुख्य रूपमा फासिवादविरुद्धको लडाइँको रूपमा चित्रित गरिएको थियो ।
२०१७ को सुरुवाती दिनहरूमा ट्रम्पले देशलाई के गर्ने हुन् भन्ने डर थियो, तर यो डरसँगै एउटा विशेष प्रकारको उत्साह पनि थियो—ट्रम्पको प्रतिरोध गर्नेहरू इतिहास बनाइरहेको महसुस गर्न सक्थे, मानौँ उनीहरू विगत शताब्दीका एन्टी–फासिस्टहरू जस्तै कुनै ऐतिहासिक उद्देश्य पूरा गरिरहेका थिए।

एक पक्षमा रहनु र अर्को पक्षको विपक्षमा उभिनु भनेको एक किसिमको नैतिकताले भरिएको सक्रियतामा संलग्न हुनु थियो। जोश–जाँगर नै मुद्रा थियो, “नैतिक स्पष्टता” भन्ने झण्डा थियो । जटिलताको कुनै ठाउँ थिएन; विश्व–ऐतिहासिक खतरा मानिएको ट्रम्प विरुद्ध लडाइँमा त्यसका लागि समय कसलाई थियो?
२०२० सम्म आइपुग्दा, ट्रम्पलाई रोक्नु नै निर्वाचनको मुख्य एजेन्डा बनिसकेको थियो, जसको पृष्ठभूमिमा कोभिड–१९ को महामारी थियो। यही वर्ष जर्ज फ्लोयडको मृत्युपछि अमेरिकी इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन भएको थियो।
तर दक्षिणपन्थीहरू पनि आफ्नै तरिकाले सांस्कृतिक मोर्चामा उत्रिए—विद्यालयका पाठ्यक्रम, पुस्तकालयका सामग्रीहरू, समाजवादी देखिने व्यापारिक संस्थाहरूको विरोध गर्दै, र (कोभिडका बेला अधिक प्रयोग भएको ओषधी आइभरमेक्निट) को प्रयोगलाई समेत राजनीतिक प्रतिरोधको रूप दिएका थिए।
तर यी उही मनोवृत्तिहरू २०२४ को राष्ट्रपति चुनावमा प्रमुख रहेनन्। चुनावसँग आफ्नै सांस्कृतिक लडाइँहरू थिए—अन्तिम समयमा कमला ह्यारिसको राष्ट्रपति उम्मेदवारका रूपमा उदय, ट्रम्पको तेस्रो पटकको उम्मेदवारी—तर समग्रमा, चुनाव अपेक्षाकृत साधारण रह्यो। प्रमुख बहसहरू मुद्रास्फीति, आप्रवासन नीति र व्यापार नीतिमा केन्द्रित थिए।
चुनावपछि गरिएको विश्लेषणहरूमा सांस्कृतिक मुद्दाहरू, विशेष गरी ट्रम्पको ट्रान्स अधिकारमाथिको आक्रमण, उल्लेख गरिए पनि मतदाताहरूलाई वास्तविक चिन्ता मुद्रास्फीति, जीवनयापनको लागत र दक्षिणी सीमाको अवस्था जस्ता भौतिक मुद्दाहरू रहेको ठहर गरियो।
चुनाव सकिएपछि, वामपन्थी खेमामा ट्रम्पको जितबाट गहिरो आघात पुगेको देखिएन। बरु, समायोजन र स्वीकार्यता नै नयाँ सूत्रवाक्य बन्न पुगे। अब सौदाबाजी (डिल मेकिङ) को चर्चा छ—चाहे त्यो मिशिगनकी गभर्नर ग्रेचेन ह्विटमरको तर्फबाट होस्, जो २०२८ को सम्भावित उम्मेदवार हुन सक्छिन्, वा म्यासाचुसेट्सकी प्रगतिशील सेनेटर एलिजाबेथ वारेनको तर्फबाट, जो २०१० को दशकको ट्रम्प–विरोधी आन्दोलनको मुख्य अगुवा थिइन्।
२०१६ मा यस्तै कुरा गर्ने सेनेट डेमोक्र्याटहरू कट्टर प्रतिरोध समर्थकहरूले दबाइइएका थिए, तर अहिले भने ट्रम्प प्रशासनसँग कसरी सहकार्य गर्ने भनेर खुलेर सोच्दा कोही पनि “फासिवादीको सहयोगी” भनेर आलोचित गरिएका छैनन्। ह्वाइट हाउसमा गएर भेटघाट गर्नु गोएबल्ससँग खाना खानु सरह हुने पुरानो मनोवैज्ञानिक सोच हराइसकेको छ।
सबैभन्दा उल्लेखनीय कुरा के छ भने, तीव्र उत्साह भए पनि हाइपरपोलिटिक्सको युगले खासै दिगो धरोहर छोडेको छैन। यसका धेरैजसो नेताहरू अहिले सार्वजनिक दृश्यबाट हराएका छन्। सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनमा जस्तै “नयाँ पुस्ता” भन्ने कुनै स्पष्ट उत्तराधिकारी छैन। ‘ब्ल्याक लाइभ म्याट्र्स र महिला मार्च’ जस्ता आन्दोलनहरू २०२५ मा व्यवस्थित, सक्रिय राजनीतिक संगठनको रूपमा यथावत् छैनन् —जसले तत्कालै विशाल प्रदर्शनहरू आयोजना गर्न सकून्।
राजनीतिक ज्वारभाटा फेरिँदै छ। ‘हाइपरपोलिटिक्स’ को युग सकिँदैछ।
त्यो अति–राजनीतिक समयमा, जेगरले लेखेका थिए, धेरै थोरै मानिसहरू “यस्तो संगठित स्वार्थको द्वन्द्वमा संलग्न थिए, जसलाई हामी क्लासिकल, २०औँ शताब्दीको अर्थमा ‘राजनीति’ भनेर वर्णन गथ्र्यौं।” त्यहाँ नीतिहरू वा शासनको बारेमा बहस थिएन, बरु नैतिकताको विषयमा छलफल भइरहेको थियो। कल्याणकारी राज्यलाई विस्तार गर्ने कुरा पक्कै उठाइयो, तर स्यान्डर्सको मेडिकेयर फर अल, ति संघर्षहरूको केन्द्रबिन्दु थिएन, न त १९९९ मा विश्व व्यापार सङ्गठनविरुद्ध भएका प्रदर्शनहरूजस्तै भूमण्डलीकरणलाई फिर्ता लैजाने प्रयास। अति–राजनीतिक वामपन्थीहरू बाइडेन प्रशासनका ठोस कार्यहरू—उद्योग नीतिहरू वा सडक, पुल, सार्वजनिक यातायातका लागि विनियोजित रकम—प्रति पनि स्थिर रूपमा उत्साहित देखिएनन्।
फासिवाद–विरोधीहरुको वरिपरि रहेको नाटक समाप्त भयो; अहिले आएर ट्रम्पले स्वतन्त्र चुनावहरू अन्त्य गर्ने चेतावनी दिएर थकाउने र आतङ्क उत्पन्न गर्ने जस्तो देखिन्छ। अति–राजनीतिकताको अर्को सामान्य विशेषता थियो—ट्रम्पको लोकप्रियताको ठूलो अंशलाई जातिवादसँग जोड्नु। तर, त्यो तर्कले आफैंलाई टिकाइराख्न सङ्घर्ष गरिरहेको छः प्रत्येक पछिल्लो आमनिर्वाचनमा ट्रम्पले गैर–श्वेत श्रमिक–वर्गीय मतदाताहरूसँग आफ्नो समर्थन बढाएका छन्, बहुसङ्ख्यक ल्याटिनो काउन्टीहरू फेला पारेका छन्, धेरै बढी एसियाली मतदाताहरू आकर्षित गरेका छन्, र अश्वेत पुरुषहरूमा समेत उनको प्रभाव विस्तार भइरहेको छ।

पहिले उदारवादी चिन्तित वर्गका मूल्यहरूलाई समर्थन गर्ने जस्तो देखिने निगमहरू र राजनीतिज्ञहरू अब खुलेर आफ्नो बाटो परिवर्तन गर्न स्वतन्त्र महसुस गरिरहेका छन्। मेटाका प्रमुख कार्यकारी मार्क जकरबर्ग जो रोगनको कार्यक्रममा गएर “आक्रामकता” र पुरुषत्वलाई उत्सव मनाउने संस्थागत संस्कृतिप्रति आफ्नो इच्छा व्यक्त गर्छन्। चुनावपछिको समयमा, म्यासाचुसेट्सका डेमोक्र्याट सेथ मल्टनले ट्रान्स अधिकारसम्बन्धी विवादबारे प्रतिक्रिया दिँदै भने—जसलाई ट्रम्पको अभियानले कुशलतापूर्वक उपयोग गरेको देखिन्छ—कि उनले आफ्ना छोरीहरूलाई कुनै पुरुष वा पूर्व–पुरुष खेलाडीबाट खेल मैदानमा कुल्चिन नदिन चाहन्छन्। उनलाई, निसन्देह, केहीले आलोचना गरे। तर उनीमाथि आएको प्रतिक्षेप केही वर्ष अगाडिको जस्तो उग्र थिएन। आन्दोलनकारी ऊर्जामा कमी आएको छ।
ट्रम्प र डेमोक्र्याटहरूबीचको ठूलै असहमति नदेखिनु पार्टीभित्र पनि देखिन सक्छ। उल्लेखनीय रूपमा, अब के गर्ने भन्ने विषयमा पार्टीभित्र कुनै गहिरो आन्तरिक सङ्घर्ष देखिँदैन, न त पार्टीले आउने वर्षहरूमा कस्तो देखिनुपर्ने भन्नेबारे गम्भीर छलफलहरू छन्। डेमोक्र्याटिक नेशनल कमिटी ट्रम्पविरुद्धको प्रतिरोधको केन्द्र हुनेछ र पार्टीको भविष्य तय गर्नेछ, तर यसको अध्यक्षका लागि भइरहेको प्रतिस्पर्धा धेरैको अपेक्षाभन्दा शान्त देखिएको छ। यो प्रतिस्पर्धामा विस्कोन्सिन डेमोक्रेटिक पार्टीका अध्यक्ष बेन विक्लर र मिनेसोटा डेमोक्रेटिक–फार्मर–लेबर पार्टीका अध्यक्ष केन मार्टिन छन्। दुवैबीच धेरै समानता छ, र उनीहरूबीच खासै वैचारिक मतभेद छैन। उनीहरू केवल पार्टी सञ्चालनका प्रविधिहरू र राष्ट्रिय परामर्शदाताहरू वा अन्य राज्य पार्टी अध्यक्षहरूसँगको सम्बन्धबारे असहमति राख्छन्। अन्यथा, उनीहरूको उमेर र गृह राज्य बाहेक, उनीहरूलाई अलग्याउन गाह्रो छ। (अध्यक्ष: केन मार्टिन चुनिएका छन्)
यति नीरस प्रतिस्पर्धा आठ वर्ष अघि अकल्पनीय थियो। त्यस समयमा, सांसद र स्यान्डर्स समर्थक कीथ एलिसन र ओबामा प्रशासनका पूर्व अधिकारी टम पेरेजबीच नेतृत्वका लागि ठूलो संघर्ष थियो। प्रत्येक पक्षले यसलाई अस्तित्वको सङ्घर्षको रूपमा चित्रण गरेका थिए । देशलाई बचाउने समय आएको थियो, जसको अर्थ पार्टीको वैचारिक दिशा विशेष महत्वको थियोः के डेमोक्र्याटहरूले अडिग प्रगतिशीलता अपनाउने कि परम्परागत उदारवादलाई अंगीकार गर्ने? के उनीहरूले निगमशाहीविरुद्ध लड्दै श्रमिक वर्गीय मतदाताहरूलाई तान्ने कि मध्यमवर्गीय उपनगरका मतदाताहरूलाई पार्टीको आधार बनाउने? ट्रम्पको पहिलो कार्यकालभरि, पार्टीभित्र यो संघर्ष देखियो, जुन अन्ततः ट्रम्पलाई कसरी पराजित गर्ने भन्ने बहसमा सीमित रह्यो। यही छायाँले २०२० को राष्ट्रपतीय दौड र वामपन्थी सुपरस्टार एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज जस्ता नयाँ नेताहरू उभ्याउने प्राथमिक चुनावहरूलाई प्रभावित ग¥यो।
केन बनाम बेनः नीरस प्रतिस्पर्धा र डेमोक्रेटिक पार्टीको भावी मार्ग
केन मार्टिन र बेन विकलरबीचको प्रतिस्पर्धा त्यस्तो खालको छैन जसले गहिरो असर पार्नेछ। यो संघर्ष डेमोक्रेटिक नेशनल कमिटी (डी.एन.सी.) का ४५० सदस्यलाई आकर्षित गर्न पनि कठिन देखिन्छ, जुन पार्टीको भावी दिशा तय गर्ने निकाय हो। पछिल्लो दशकका अभ्यासहरूले पार्टीलाई सफलता दिलाउन नसकेको स्पष्ट भए पनि, कतिपय डेमोक्रेटहरू तिनलाई छोड्न गाह्रो मानिरहेका छन्।

विकलरले हालै ट्विटर मा लेखेका थिए कि उनले डेमोक्रेटिक पार्टीको “पूरा गठबन्धन“ लाई मजबुत बनाउनेछन्। उनले “ब्ल्याक, ल्याटिनो, नेटिभ, एएएनएचपीआइ, एजीबीजीक्य, युवा, अन्तरधार्मिक, जातीय, ग्रामीण, पूर्वसैनिक, र अपांगता प्रतिनिधित्व“ जस्ता पहिचानहरूको सूची प्रस्तुत गरे। यो प्रवृत्ति २०१० को दशकमा डेमोक्रेटहरूलाई सांकेतिक रूपमा आश्वस्त पार्ने खालको थियो, तर ट्रम्प–समर्थक दक्षिणपन्थी लहरलाई रोक्न असफल भयो। यस्तो पहिचान–आधारित समावेशी नारा नैतिक र प्रतीकात्मक रूपमा महत्वपूर्ण लाग्न सक्छ, तर ती समुदायहरूका लागि ठोस राजनीतिक उपलब्धि दिने विषय होइन। कतिपयका लागि यो मनोवैज्ञानिक रूपमा सान्त्वनादायी हुन सक्ला, तर साधारण मतदाताहरूका लागि—जसले यी सबै संक्षिप्त शब्दहरू बुझ्दैनन् वा किन “अन्तरधार्मिक“ छुट्टै श्रेणीमा राखिएको छ भन्ने प्रश्न गर्छन्—यो झन् अन्योलपूर्ण हुन सक्छ।
राजनीति अब ’सबैथोक’ रहेन
अब भविष्यमा के आउनेछ भन्ने स्पष्ट छैन, तर राजनीतिक तापक्रम क्रमशः घट्दै जाने देखिन्छ। यो निराशाजनक भन्दा पनि गहिरो रूपमा बुझ्नुपर्ने सत्य हो कि अघिल्ला दशकमा अपनाइएका रणनीतिहरू सफल भएनन्। प्रत्येक निर्वाचनलाई अन्तिम लडाइँजस्तै चित्रण गर्नु र स्थायी खतरा महसुस गराउनु कठिन छ। ट्रम्पविरुद्धको प्रतिरोध, यसको आफ्नै सर्तमा, असफल रह्यो। ट्रम्प पुनः उपस्थित छन्, यस पटक उनी लोकप्रिय मत जितेका नेतासमेत भएका छन्।
अबको राजनीति पहिलेभन्दा शान्त र परम्परागत बन्न सक्छ—प्रतिरोध अझै रहनेछ, तर सायद कम नाटकीय तरिकाले। जब ट्रम्पले जन्मसिद्ध नागरिकताको अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे, त्यतिखेर २० भन्दा बढी राज्यका गभर्नरहरू र महान्यायधिवक्ताहरूले त्यसलाई रोक्न मुद्दा दायर गरे। यसको लागि ठूलो विरोध प्रदर्शन आवश्यक परेन, न त कुनै नयाँ एन्टिफासिस्ट आन्दोलन उठाउने माग गरियो। काम मात्र भयो। यसले संकेत गर्यो कि डेमोक्रेटहरू अब भन्छन्ः ’क्रियाकलाप(वैधानिक कामकारबाही) प्रदर्शनभन्दा महत्वपूर्ण छ।’
अमेरिकी राजनीतिमा चक्रिय परिवर्तन हुने निश्चित छ। ट्रम्पको यो शक्ति प्रदर्शन अनन्त रहने छैन। यदि उनी असफल भए भने, २०२६ को मध्यावधि चुनावले कंग्रेसमा डेमोक्रेटहरूको संख्यात्मक सुधार ल्याउन सक्छ, जसले रिपब्लिकनहरूको महत्वपूर्ण कानुनी एजेन्डा पारित गर्ने क्षमता अन्त्य गर्न सक्छ। तर जुन कुरा सम्भवतः चाँडै फर्कने छैन, त्यो पछिल्लो दशकको जस्तो तीव्र राजनीतिक सक्रियता हो। राजनीति अब पृष्ठभूमिमा रहनेछ—जसरी टेलिभिजनमा स्टेटिक आवाज गुञ्जिन्छ, तर त्यो अब ’सबैथोक’ रहने छैन।
द न्यूयोर्क टाइम्स, म्यागजिनबाट भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्