अनलाइन ठगीले कसैलाई सुरक्षित राख्दैन
एड्गरले रिटालाई लिंक्डइनमा भेटे। उनी क्यानाडाको एउटा सफ्टवेयर कम्पनीमा काम गर्थे, रिटा सिंगापुरकी थिइन् र एउटा ठूलो परामर्श कम्पनीमा कार्यरत थिइन्। उनीहरू केवल साथी मात्र थिए, तर सधैं अनलाइन कुराकानी गर्थे।
एक दिन, रिटाले एड्गरलाई क्रिप्टो व्यापार गर्न सिकाइदिने प्रस्ताव गरिन्। उनको सहयोगमा, एड्गरले राम्रो नाफा कमाए। त्यसैले, उनले आफ्नो लगानी अझै बढाए। तर, एड्गरले पैसा निकाल्न खोजेपछि, त्यो क्रिप्टो–व्यापार वेबसाइट नक्कली भएको र उनले ७८,००० डलर गुमाएको कुरा थाहा भयो ।
पछि थाहा भयो कि टिटा म्यानमारको एउटा बन्द शिविरमा कैद गरिएकी मानव तस्करीको शिकारी फिलिपिनी महिला थिइन्।
एड्गर र रिटा दुवै फरक तरिकाले “सुँगुर वध“ भनिने ठगीको शिकार भएका थिए। यो एउटा विश्वव्यापी ठगी उद्योगको सबैभन्दा फाइदाजनक रूप हो, जसले हरेक वर्ष ५०० अर्ब डलरभन्दा बढी लुटिरहेको छ। द इकोनोमिष्टको आठ–भाग लामो स्क्याम इन्क पोडकास्टले यसखाले अपराध, अपराधीहरू र उनीहरूले पु¥याउने अकथनीय पीडाबारे अनुसन्धान गर्छ।
स्क्याम इन्क पछिल्ला दशकहरूमा अन्तर्राष्ट्रिय संगठित अपराधमा आएको सबैभन्दा ठूलो परिवर्तनको कथा हो।
सुँगुर वध वा शा जु पान भन्ने चिनियाँ अपराधी स्ल्याङ हो। यो ठगी विधिमा ठगहरूले पहिला एउटा नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरू तयार पारेर “खोर“ बनाउँछन्। त्यसपछि, उनीहरू “सुँगुर“ (शिकार) छान्छन्, लक्षित व्यक्तिलाई पहिचान गरेर। त्यसपछि, “सुँगुर पाल्छन्“—हप्तौंदेखि महिनौंसम्म विश्वास जित्न प्रयास गर्छन्। त्यसपछि, “सुँगुर काट्छन्“—शिकारलाई लगानी गर्न लोभ्याएर। अन्त्यमा, “सुँगुरको अन्तिम थोपा रससमेत निकाल्छन्“—शिकारीले उनको परिवार र साथीहरूसम्म लुट्छन्।
यो उद्योग तीव्र रूपमा फस्टाइरहेको छ। सिंगापुरमा, ठगी अहिले सबैभन्दा धेरै हुने अपराध बनेको छ। संयुक्त राष्ट्रसंघ (युएन) का अनुसार २०२३ मा मात्र क्याम्बोडिया र म्यानमारमा करिब २.५ लाख मानिस, यो अपराध उद्योगमा संलग्न थिए। अर्को एक अनुमानअनुसार, विश्वभर १५ लाखभन्दा बढी मानिस ठगीमा संलग्न छन्। स्क्याम इनक पोडकास्टमा हामीले मिनेसोटाका एक व्यक्तिले ९.२ मिलियन डलर गुमाएको घटना र कान्सासको ग्रामीण बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ले ४७ मिलियन डलर गुमाउँदा बैंक नै डुबेका घटनाहरू वर्णन गरेका छौं । ती सिइओ ,जसले क्रिप्टो लगानीका लागि रकम हिनामिना गरे, नक्कली अनलाइन महिलाको— बेला—को प्रभावमा परेका थिए। उनी एक भाग–समयका पास्टरसमेत थिए, जसले आफ्नै चर्चबाट पनि पैसा चोर्न पुगे ।
अनलाइन ठगीको परिमाण र प्रभाव अवैध लागूऔषध व्यापार जत्तिकै विशाल छ। तर, यो झनै खतरनाक छ। किनभने, कुनै पनि मानिस, केवल आफ्नो सामान्य जीवन बाँच्दा पनि, ठगहरूको शिकार बन्न सक्छ। पीडितहरूमा स्नायुविज्ञान मा पीएचडी गरेका व्यक्तिहरूसमेत छन्, यहाँसम्म कि एफबीआई मा ठगी नियन्त्रण गर्ने अफिसरहरूका आफन्तहरू पनि छन् ।
रिटाजस्ता ठगी गर्नेहरूलाई “म्यानुअल“ अर्थात् विस्तृत निर्देशिका प्रदान गरिन्छ, जसमा लक्ष्यहरूलाई कसरी भावनात्मक रूपमा फसाउने भनेर चरणबद्ध रूपमा सिकाइन्छ। ठगहरू केवल प्रेम सम्बन्धकै आडमा ठग्दैनन्। उनीहरू डर, एक्लोपन, लोभ, शोक, र दिक्कताजस्ता मानव कमजोरीहरूको फाइदा उठाउँछन्।
अनलाइन ठगी लागूऔषध व्यापारभन्दा झनै खतरनाक हुनुको अर्को कारण यो उद्योग प्रायः कानुनी पहुँचभन्दा बाहिर रहन्छ। भौतिक दुनियाँमा, ‘पिग बुचर’ (सुँगुर वध गर्ने ठगहरू) यस्ता कम्पाउन्डबाट सञ्चालन गर्छन्, जहाँ स्क्यामरहरूलाई उत्पादन लाइनको शैलीमा राखिन्छ। ती कम्पाउन्डहरू एकैसाथ कारागार शिविर र पुरानो शैलीको औद्योगिक नगर जस्ता हुन्छन्, जहाँ सुपरमार्केट, वेश्यालय, जुवा अड्डा मात्र होइन, दोषी देखिएकाहरूलाई यातना दिने कोठाहरू समेत हुन्छन्।
यस उद्योगको केही मुनाफा राजनीतिज्ञ र सरकारी अधिकारीहरूलाई घूस दिन प्रयोग गरिन्छ, जसले गर्दा ठगीलाई कानुनी सुरक्षा प्राप्त हुन्छ। फिलिपिन्समा चिनियाँ नागरिक एलिस गुओ नामकी महिलाले एउटा सानो, जर्जर सहरको मेयर बन्न सफल भइन् र त्यहाँ ३० वटा भवनहरू रहेको ठगी कम्प्लेक्स स्थापना गरिन्। २०१९–२४ को अवधिमा उनको बैंक खातामार्फत ४०० मिलियन डलरभन्दा बढी रकम प्रवाहित भयो।
क्याम्बोडिया, लाओस (ईबधक), र म्यानमारमा साइबर अपराध देशको प्रमुख अर्थतन्त्रको हिस्सा बनिसकेको छ। यी “स्क्याम राज्यहरू“ अब लागूऔषध तस्करीमा संलग्न माफियाद्वारा सञ्चालित राज्य (नार्को स्टेट)भन्दा पनि झन् गम्भीर चुनौती बन्ने सम्भावना छ।
अनलाइन दुनियाँमा पनि यी ठगहरू पक्रिन उत्तिकै गाह्रो छ । तिनलाई सञ्चालन गर्ने चिनियाँ आपराधिक समूहहरू परम्परागत माफिया जस्ता होइनन् । बरु, तिनीहरू भूमिगत ‘गिग अर्थतन्त्र’ (गिग इकोनोमी) का रूपमा विकसित भएका छन्। ‘एउटा समूहले पीडितहरूलाई सम्पर्क गर्ने’, अर्कोले तिनीहरूलाई ‘क्रिप्टोमा लगानी गर्न प्रोत्साहित गर्ने’, र तेस्रोले ‘ठगिएको रकमलाई धुने (मनी लउन्डिरिङ) कार्य’ गर्छ। ‘मानिसको भावनात्मक कमजोरीको डिजिटल शोषण (डिजिजल फ्रयाकिङ अफ ह्युमन फ्राइल्टी) अत्यन्तै तीव्र रूपमा विस्तार गर्न सकिने प्रकृया’ हो।
ठगी लागूऔषध व्यापारभन्दा झनै खतरनाक हुनुको अन्तिम कारण ‘यसको अभिनव (इन्नोभेटिभ) स्वरूप’ हो। अपराधीहरूले पीडितको उपकरणबाट संवेदनशील डाटा सङ्कलन गर्न ‘उन्नत मालवेयर (एडभान्स मालवेयर)’ प्रयोग गर्छन्। अनलाइन बजारहरूमा ‘वेब डोमेन, कृत्रिम बुद्धिमत्ता सफ्टवेयर, र यातना दिने उपकरणहरू’ जस्ता सेवा र उपकरणहरू बेचिन्छन्। ‘क्रिप्टोकरेन्सीका कारण अपराधीहरू रकम छिटो र गोप्य रूपमा वास्तविक दुनियाँमा सार्न सक्षम भएका छन्’। अमेरिका अहिले ‘क्रिप्टो सम्बन्धी नियमन खुकुलो’ पार्दै छ, जसले अपराधीहरूलाई नयाँ अवसर दिनेछ।
कृत्रिम बुद्धिमत्ता (एआई) ले ठगीलाई अझ तीव्र बनाउनेछ।’ अहिले नै कसैको आवाजको ‘१५ सेकेन्डको नमुना प्रयोग गरेर’ अपराधीहरूले उसको नक्कली आवाज (भ्वाइस क्लोन) बनाउन सक्छन्। हालै, ब्रिटिस इन्जिनियरिङ कम्पनी एआरयुपी को हङकङ अफिसमा वित्त प्रमुख र अन्य कर्मचारीहरूको ‘डिपफेक’ भिडियो बनाइ ठगहरूले एक कर्मचारीलाई २५ मिलियन डलर भुक्तानी गर्न बाध्य पारे। आवाज र अनुहार परिवर्तन गर्ने एआई, स्वचालित अनुवाद सेवाहरू, र भूमिगत बजारमा बेचिएका ठूलो मात्रामा चोरिएका डाटा प्रयोग गरेर अपराधीहरू अझ धेरै स्थानमा, अझ धेरै पीडितहरूलाई लक्षित गर्न सक्षम हुनेछन्।
ठगहरूले प्रविधि विश्लेषक (एनालाइटिक्स) को प्रयोग गरी ठूला डाटासेटहरू छानबिन गर्न सक्छन्, जसले गर्दा धनी, एक्लो, वा समस्या झेलेका मानिसहरूलाई सजिलै निशाना बनाउन सकिन्छ।
अनलाइन ठगी लागूऔषध व्यापारभन्दा नियन्त्रण गर्न झनै गाह्रो हुने सम्भावना छ। लागूऔषधको हकमा कानुनी, नियमन, र उपचारको विकल्प उपलब्ध हुन्छ, तर ठगीका लागि यस्ता उपायहरू उपलब्ध छैनन् ।
शिक्षा केही हदसम्म सहयोगी हुन सक्छ। सिङ्गापुरमा सार्वजनिक यातायात र अनलाइन कारोबारको बेला सचेतना सन्देशहरू देखाइन्छ। तर, ठगी नियन्त्रणका लागि प्रहरी व्यवस्थापनको शैली पनि परिवर्तन गर्न आवश्यक छ।
ठगहरूविरुद्ध लड्नका लागि प्रशासनहरूले आफ्नै सञ्जाल निर्माण गर्नुपर्छ। अहिले धेरै प्रहरी सङ्गठनहरू लागूऔषध व्यापार रोक्न ठूलो स्रोत लगानी गर्छन्, तर ठगीलाई सामान्य झन्झटको रूपमा लिन्छन् र पीडितहरूलाई ठगिने मूर्खहरूसरह व्यवहार गर्छन्। यसको साटो, प्रहरीले बैंकहरू, क्रिप्टो एक्सचेन्जहरू, इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम कम्पनीहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू, र ई–कमर्स कम्पनीहरूसँग सहकार्य गर्नुपर्छ।
सिङ्गापुरले यसका लागि एक ‘नर्भ सेन्टर’ स्थापना गरेको छ, जहाँ प्रहरी, बैंकहरू, र ई–कमर्स कम्पनीहरू मिलेर ठगहरूले रकम सार्नेबित्तिकै त्यसलाई ट्रयाक गर्न र बदमासी रोक्न सक्छन् ।
ठगीको चक्कुबाट बचौं
देशहरूले आफ्ना सिमाना बाहिर पनि ध्यान दिनुपर्छ। अपराधीहरूले पैसा र मानिसहरूलाई धेरै कानुनी क्षेत्रहरू (जुरिस्क्डिक्सन) मार्फत सार्दा अन्तर्राष्ट्रिय कानुनी संयन्त्रह उनीहरूलाई पछ्याउन असमर्थ हुन्छन्।
धेरै ठगी गिरोहका मालिकहरू मुख्यभूमि चीन का छन्। चिनियाँ कम्युनिस्ट पार्टीले हरेक वर्ष सयौँ हजार ठगहरूलाई पक्राउ गर्छ, जसले गर्दा ठगी उद्योगको विस्तार र जटिलता बारे चीनलाई राम्रो ज्ञान छ।
हाल अमेरिका र चीनबीच तनाव रहेको अवस्थामा, ठगी नियन्त्रण दुई देशले आपसी सहकार्य गर्नुपर्ने क्षेत्र हुन सक्छ—र गर्नुपर्छ पनि। ■
द इकानोमिष्ट, फेब्रुवरी ८, २०२५ को छापा संस्करणको कभर स्टोरीको भावानुवाद।
प्रतिक्रिया दिनुहोस्