काठमाडौं २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट विगतमा केही गल्ती भएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका हुन् ।
नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकारसम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय भएका त्रुटि स्वीकार गर्दै अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्किएको बताएका हुन् । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं,’अध्यक्ष दाहालले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’
पार्टीले गरेका राम्रा र नराम्रा कामहरूको समीक्षा गर्न जनताका बीचमा जाने पनि अध्यक्ष दाहालले बताए । अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने उनको भनाइ छ । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं,’अध्यक्ष दाहालले भने ।

उबचतथ२०८४ सालको चुनावमा २०६४ सालको संविधानसभा निर्वाचनमा भन्दा पनि राम्रो गर्ने अध्यक्ष दाहालले दाबी गरे । ०६४ सालमा माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट जितेको थियो । २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने पनि अध्यक्ष दाहालले दाबी गरे । ‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्