अमेरिकी कूटनीतिज्ञहरूले लामो समयदेखि पश्चिमी गोलार्धलाई उपेक्षा गरेका छन्।
मेरो पहिलो विदेश भ्रमण शुक्रबार केन्द्रीय अमेरिकामा हुँदैछ, जसले मलाई हाम्रो आफ्नै गोलार्धमा राख्नेछ। पछिल्ला सय वर्षमा यो अमेरिकी विदेश मन्त्रीहरूका लागि दुर्लभ कुरा हो। विभिन्न कारणहरूले गर्दा, अमेरिकी परराष्ट्र नीति अरू क्षेत्रहरूमा केन्द्रित रहँदै आएको छ, जसले गर्दा हामीले आफ्नै क्षेत्रलाई उपेक्षा गरेका छौं, समस्याहरूलाई बल्झिन दिएका छौं, अवसरहरू गुमाएका छौं, र हाम्रा साझेदारहरूलाई बेवास्ता गरेका छौं। अब त्यो समाप्त हुनेछ ।

राष्ट्रपति ट्रम्पको परराष्ट्र नीतिको एजेन्डा आफ्नै घरबाट सुरु हुन्छ। उनका शीर्ष प्राथमिकताहरू मध्ये एक हाम्रो सीमाहरू सुरक्षित गर्नु र अघिल्लो प्रशासनले सहयोग गरेको विनाशकारी अवैध आप्रवासनलाई उल्टाउनु हो। यो प्रयासमा कूटनीतिक भूमिकाको महत्वपूर्ण स्थान छ। हामी मूल देशहरूसँग सहकार्य गरेर आप्रवासनको लहरलाई रोक्न र हतोत्साहित गर्न आवश्यक छ, साथै अवैध रूपमा अमेरिका आएका उनीहरूका नागरिकलाई फिर्ता लिने प्रतिबद्धता गराउनुपर्छ।
केही देशहरूले हामीसँग उत्साहपूर्वक सहकार्य गरिरहेका छन्—केही कम उत्साहित छन्। पहिलो समूहलाई हामी पुरस्कृत गर्नेछौं। दोस्रो समूहको हकमा, राष्ट्रपति ट्रम्पले देखाइसकेका छन् कि अमेरिकासँग रहेको ठूलो प्रभावशाली शक्ति आफ्ना हितहरू सुरक्षित गर्न प्रयोग गर्न उनी हिचकिचाउने छैनन् । यदि यसमा शंका छ भने, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई मात्र सोध्नुस्।
तर जब परिस्थिति कठोर हुने माग गर्छ, राष्ट्रपति ट्रम्पको गोलार्धप्रतिको दृष्टिकोण भने सकारात्मक नै छ। हामीले समृद्ध क्षेत्र देख्छौं, जहाँ अवसरहरू प्रचुर मात्रामा छन्। हामी व्यापार सम्बन्ध बलियो बनाउन सक्छौं, आप्रवासन नियन्त्रणका लागि साझेदारी गर्न सक्छौं, र हाम्रो गोलार्धको सुरक्षालाई सुदृढ गर्न सक्छौं।
मेरो यस भ्रमणमा म पुग्ने देशहरू—एल साल्भाडोर, ग्वाटेमाला, कोस्टारिका, पानामा र डोमिनिकन गणराज्य—सबैले अमेरिकासंगको थप सहकार्यबाट अत्यधिक लाभ उठाउन सक्छन्। अघिल्ला प्रशासनहरूले यी देशहरूलाई बेवास्ता गरे, वैश्विक प्राथमिकतालाई स्थानीय आवश्यकताभन्दा माथि राखे, र चीनको आर्थिक विकासलाई तीव्र पार्ने नीतिहरू अपनाए, जुन प्रायः हाम्रा छिमेकी राष्ट्रहरूको खर्चमा गरियो ।
हामी यसलाई उल्टाउन सक्छौं। कोभिड महामारीले अमेरिकी आपूर्ति शृङ्खलाको निर्भरतालाई उजागर ग¥यो। हाम्रो महत्वपूर्ण आपूर्ति शृङ्खलाहरूलाई पश्चिमी गोलार्धमै पुनःस्थापित गर्दा छिमेकी राष्ट्रहरूको आर्थिक वृद्धिका लागि मार्ग खुल्छ, र अमेरिकीहरूको आर्थिक सुरक्षालाई सुरक्षित राख्छ।
अमेरिकासँगको नजिकको सम्बन्धले यी देशहरूमा रोजगारी सिर्जना गर्छ र उच्च आर्थिक वृद्धि उत्पन्न गर्छ। यसले आप्रवासनको प्रोत्साहनलाई कम गर्छ र सरकारहरूलाई अपराधविरुद्ध लड्न तथा आन्तरिक लगानी गर्न आवश्यक राजस्व प्रदान गर्छ। जब हाम्रा क्षेत्रीय साझेदारहरू बलिया बन्छन्, उनीहरूले चीनजस्ता राष्ट्रहरूको दबाबबाट आफूलाई जोगाउन सक्छन्, जसले धेरै आश्वासन दिन्छ तर थोरै मात्र पूरा गर्छ।
वृहद आप्रवासनले हाम्रो सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको छ। अब लागू औषध तस्करहरू—राष्ट्रपतिले सही रूपमा विदेशी आतंकवादी संगठनको रूपमा वर्गीकृत गरिसकेका छन्—हाम्रा समुदायहरू कब्जा गर्दैछन्, हिंसा फैलाउँदैछन्, र हाम्रो परिवारलाई फेन्टानाइलजस्ता घातक पदार्थले विषाक्त बनाउँदैछन्। क्यूबा, निकारागुआ र भेनेजुएलाका अवैध शासकहरूले जानाजान यस अराजकतालाई तीव्र बनाइरहेका छन्। यसै बीच, चिनियाँ कम्युनिस्ट पार्टीले कूटनीतिक र आर्थिक प्रभाव—पानामा नहर जस्ता क्षेत्रमार्फत—अमेरिकालाई कमजोर पार्ने र सार्वभौम राष्ट्रहरूलाई आफ्नो अधीनस्थ राज्यमा परिणत गर्ने प्रयास गरिरहेको छ।
म विश्वस्त छु कि मेरा भ्रमणस्थलका देशहरू तयार साझेदार हुनेछन्। राष्ट्रपति ट्रम्पझैँ, तिनका नेताहरू पनि व्यावहारिक छन्, जो आफ्ना नागरिकहरूलाई प्राथमिकता दिन्छन्। र किनभने उनीहरू व्यावहारिक छन्, उनीहरूलाई थाहा छ कि अमेरिकासँग सहकार्य गर्दा धेरै फाइदा हुन्छ।
यो विदेश नीति साझा ठोस स्वार्थमा आधारित छ, न कि अस्पष्ट आदर्शहरू वा युटोपियन विचारधारामा। यही दृष्टिकोण विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अपनाउनेछ। हामी सबै सद्भावनायुक्त राष्ट्रहरूलाई हात बढाउनेछौं, र आशा गर्छौं कि उनीहरूले पनि हाम्रो सहकार्यबाट फाइदा उठाउने सम्भावनालाई चिन्न सक्नेछन्।
सौभाग्यवश, पश्चिमी गोलार्धमा विरोधाभन्दा साझा स्वार्थहरू बढी छन्। अमेरिकालाई पुनः महान बनाउनु भनेको हाम्रा छिमेकी राष्ट्रहरूलाई पनि समृद्धि दिलाउनु हो। राष्ट्रपति ट्रम्पलाई रोक्नका लागि रोजिएका चुनौतीहरू हाम्रो गोलार्धका अन्य राष्ट्रहरूको लागि पनि चुनौतीहरू हुन्।
हामी साझा घरमा बस्छौं। यो घर जति सुरक्षित, बलियो र समृद्ध हुन्छ, त्यति नै हामी सबै राष्ट्रहरूले फाइदा उठाउनेछौं। यदि हामी मिलेर अघि बढ्यौं भने, हामीले हासिल गर्न नसक्ने केही नै हुँदैन।
— मार्को रुबियो, अमेरिकी विदेश मन्त्री हुन् ।
द वालस्ट्रिट जर्नलको ३० जनवरी, २०२५ को छापा संस्करणबाट
प्रतिक्रिया दिनुहोस्