काठमाडौं १५ पुस । राष्ट्रिय च्याउ दिवसको अवसरमा आज काठमाण्डौको भृकुटीमण्डपमा च्याउ मेला हुँदैछ । मेला बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयोजक च्याउ उत्पादक किसान सङ्घले जनाएको छ ।
मेलामा च्याउका परिकारसँगै गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि गरिनेछ । मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ ।
नेपालमा अहिले करिब ३५ हजार किसान च्याउखेतीमा आबद्ध रहेका सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ ।
च्याउ उत्पादक किसान सङ्घ नेपालले यसअघि २०७६ पुस ९ गतेदेखि पुस २० गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’सञ्चालन गरेको थियो ।
पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।
वि।सं।२०७६ पुस १५ गते बाग्मती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’यसैका लागि भएको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार यही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत घोषणा गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्