काठमाडौ १४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताउनुभएको हो । उहाँले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसावले नेगेटिभ हिसावको मात्रै सोचाई छ । बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसावले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन । नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो ।’’
अध्यक्ष ढकालले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने जिकिर गर्नुभयो । उहाँले अहिले नेपाल बाहिर रहेका नेपालीहरुले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताउनुभयो । उहाँले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभयो ।
‘‘नेपालमा जता हेर्यो त्यतै अवसर छ । जहाँ हेर्यो हो त्यहीँ छ । कोरोनाका कारण जुन सङ्कुचन आयो, यही बीचमा उद्योगा वाणिज्य महासंघको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबीचमा यसको लागि हामीले करिव डेढ वर्ष भयो, यो बीचमा त्यो आम्तविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’’उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानुनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्