ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस बैठकमा आरजुको ‘ब्रिफिङ’, सत्ता गठबन्धनलाई भारतको समर्थन नरहेको संकेत


एबीसी न्यूज

काठमाडौं १० भदौ । नयाँ दिल्लीमा ‘अनपेक्षित महत्त्व’ पाएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो दल नेपाली कांग्रेसको बैठकमा भ्रमणबारे जानकारी गराएकी छन्। आफ्नो पाँच दिने भारत भ्रमणबारे साउन २ देखि जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले शुक्रबार ‘ब्रिफिङ’ गरेकी हुन्।

केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार राणाले भ्रमणका क्रममा भारतले आफूलाई उच्च सम्मान दिएको र भ्रमण सफल रहेको बैठकमा सुनाएकी थिइन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। मोदीले दिएको भेट र उनले आफ्नो प्रतिनिधिमण्डलमा समावेश गरेका सदस्यका कारण राणाको भ्रमणलाई भारतले उच्च महत्त्व दिएको विश्लेषण भएको छ।

मन्त्री राणाको सचिवालयले दिएको जानकारी अनुसार उनले बैठकमा ‘भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास लिएको’ सुनाएकी थिइन्।

त्यस्तै विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्तामा उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतका विषयमा कुरा उठाएको पनि उनले जानकारी गराएकी थिइन्।

कांग्रेस बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई ७ मिनेट बोल्न समय दिइएको थियो। परराष्ट्रमन्त्री राणाले तोकिएको समयसीमाभित्रै आफ्नो भनाइ टुंग्याएकी थिइन्। त्यो समयमा उनले भारत भ्रमणबाहेक पार्टी र राज्यका निकायमा महिला सहभागिताको कुरा पनि उठान गरेकी थिइन्।

‘कतिपय प्रतिनिधिमण्डलहरूमा महिलालाई नै सहभागी गराऊँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध छैनन्, त्यसैले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्छ,’ मन्त्री राणाको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेका पनि छन्। यसलाई थप बढाउनु जरुरी छ। पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी छ। यो माग मैले बारम्बार राख्दै आएको छु र आज पनि राख्दछु।’

कांग्रेस–एमाले गठबन्धनलाई सर्मथन नरहेको संकेत
संक्षिप्त धारणा राखेकी भए पनि मन्त्री राणाले आफ्नो भारत भ्रमणको राजनीतिक सन्देश बैठकमा सुनाउन भने छुटाइनन्। केन्द्रीय सदस्य गुरुङका अनुसार नेपालमा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको गठबन्धन सरकारलाई सकारात्मक रूपमा लिएको आफूले पाएको बताएकी थिइन्।

तर, अर्का एक केन्द्रीय सदस्यका अनुसार मन्त्री राणाले उक्त कुरा सनाउँदै गर्दा उनको अनुहारमा भने खुसीको भाव झल्किएको थिएन।

‘भारत खुसी नै रहेको भनेर सुनाउँदा पनि उहाँको अनुहारमा खासै खुसी झल्किएको थिएन,’ ती केन्द्रीय सदस्यले आफ्नो विश्लेषण सुनाउँदै भने, ‘उहाँको भाषा चाहिँ अलि रुखो थियो। हामी त राजनीति गर्ने मान्छे, मुखले जे भने पनि अनुहारको ‘फेस रिडिङ’ गर्छौं नि।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई खुलेर स्वागत गरेको छैन।

उसो भए भारतको प्रतिक्रियालाई लिएर मन्त्री राणाको खास भनाइ के थियो त ?

‘उहाँले यो सरकारका प्रति भारतको सर्मथन छ पनि भन्नु भएन,’ राणाको भनाइको सार खिच्दै उनले भने, ‘भारत यो सरकार बनेकाप्रति सन्तुष्ट छ मात्रै भन्नुभयो।’

पछिल्लो समय भएको कांग्रेस एमालेको मिलन र एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व सुम्पिएकोप्रति भारत बेखुस रहेको रहेको यसबाट बुझ्न सकिने ती केन्द्रीय सदस्यको भनाइ छ।

‘यो पालि भारतले नचाहँदा पनि शेरबहादुर दाइले ओलीसँग मिलेर सरकार बनाइदिनुभयो,’ करिब दुई महिनाअघिको राजनीतिक घटनाक्रम सम्झिँदै उनले भने, ‘भारतीयले रोक्न खोज्दा पनि मान्नु भएन।’

गत असार १७ गतेको मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई विस्थापित गर्दै नयाँ सरकार बनाउने गरी ७ बुँदे सहमति भएको थियो। उक्त सहमति अनुसार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३० असारमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड पछिल्लोपटक दिल्ली जाँदा पनि भारतले एमाले–माओवादीबीचको नभई कांग्रेस–माओवादीबीचको गठबन्धन सरकार बनेको हेर्न चाहेको सन्देश दिएको नेपालको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड गत १७ जेठमा मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा नयाँ दिल्ली गएका थिए। त्यहाँ मोदी र प्रचण्डको ‘वान टु वान’ भेट समेत भएको थियो। एमालेसँग मिलेर सरकार चलाइरहेका प्रचण्डलाई मोदीले कांग्रेससँगै मिलेर सरकार चलाउन अप्रत्यक्ष आग्रह गरेको चर्चा हुने गरेको छ।

भारतको उक्त सन्देशपपिछ प्रचण्ड कांग्रेससँग नजिकिन थालेका थिए। नेकपा एमालेका नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतको भनाइ पत्याउने हो भने प्रचण्डले त्यही सन्देश अनुसार कांग्रेससँग राष्ट्रिय सरकारको प्रस्ताव समेत राखेका थिए।

प्रचण्डको त्यस्तो प्रस्ताव थाहा पाएपछि आफूहरूले नै कांग्रेसलाई मिलेर सरकार बनाउन प्रस्ताव गरेको र त्यसमा कांग्रेस सभापति देउवा सहमत भएको उनीहरूको दाबी छ।

सरकार बनेको डेढ महिना पुग्नलाग्दा पनि ओलीले भने अहिलेसम्म भारत भ्रमणको निमन्त्रणा भने पाइसकेका छैनन्। ‘परिचयात्मक भ्रमण’का लागि २७ साउनमा नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निम्तो दिँदा ओलीलाई भने दिएनन्।

ओलीले भने मिस्रीमार्फत मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। भारत भ्रमणमा गएकी राणाले ओलीको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेकी थिइन्। अरु बेला प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै भ्रमणको निम्तो दिने नयाँ दिल्ली यसपटक नहतारिएको देख्दा धेरैले ओली–मोदी सम्बन्ध अझै सहज हुन नसकेको अड्कल गरेका छन्।

भारतबाट भ्रमणको निमन्त्रणा नपाएका ओलीले बिम्स्टेकको शिखर सम्मेलनको अवसर पारेर थाइल्यान्डबाट आफ्नो तेस्रो कार्यकालको पहिलो औपचारिक भ्रमण थाल्ने तयारी गरेका छन्। यद्यपि, ४ सेप्टेम्बरमा हुने भनिएको बिम्स्टेक सम्मेलन थाइल्यान्डमा भएको पछिल्लो राजनीतिक उथलपुथलका कारण अनिश्चित बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com