काठमाडौं ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।
२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार ९आज० दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दिउँसो २ बजे बैठक बोलाएको छ ।
प्रमुख सचेतक बिक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए । विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक पनि जारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न दिउँसो २ बजे बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्