काठमाडौं १९ असार । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन्।
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउँदै उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरू अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए।
‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो। अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ,’ उनले भने।
उनले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने पनि बताए।
‘त्यसैगरी सधैँ अल्पमतको अवस्थामा सबै राजनीतिक पार्टीहरुलाई पुर्याउने अल्पमतिय वर्तमान निर्वाचन प्रणाली परित्याग गरेर व्यक्ति होइन, पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरौँ।
पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेदवारहरु पहिले नै तय गरेर जनताका बीच प्रस्तुत गर्ने प्रणाली स्थापित गरौँ,’ गौतमले भने, ‘यसरी निर्वाचन गर्दा राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधि सभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको पनि एकै दिन एउटै मतबाट निर्वाचन गर्ने व्यवस्था गरौँ। निर्वाचन खर्चबाट सबै जोगिने छौँ। जालझेल, कपट, बुथकब्जा, मत किनबेच जस्ता अग्राह्य क्रियाकलापबाट पनि बच्नेछौँ।’
राष्ट्रिय सभा सदस्य गौतमले नेपालका सबै कृषियोग्य भूमीलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए।








प्रतिक्रिया दिनुहोस्