काठमाडौं । चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले स्वागत गरे ।
बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । उनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिए ।
भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।
चिनियाँ मन्त्रीले समेत चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष डा लामाले जानकारी दिए ।
मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ्ग झिहुइसहितको उपस्थिति रहेको थियो ।
मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईलगायतको उपस्थिति थियो । यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गरे ।
प्रतिक्रिया दिनुहोस्