काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्त्वाकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्त्वाकांक्षा बढ्न दिनु नहुने बताए।
उनले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनि प्रश्न समेत गरे। ‘नेपाली सेना त्यस्तो संवेदनशील अंग छ, यसलाई हामी व्यापार गर्न दिन्छौँ,’ गुरुङ भने, ‘त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ। सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसावले यो कुरा कत्तिको जायज हो रु’
सेना महत्वाकांक्षी हुँदा व्यवस्थामाथि नै खतरा पर्ने भन्दै उनले अगाडि भने, ‘आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला। हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्त्वाकांक्षा बढ्दाखेरी के हुन्छरु संकट पैदा भएको देखेको छैनरु’
गुरुङले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्नेमा जोड दिए। ‘त्यहाँभित्रका धेरै कुराहरु लोकतान्त्रिकरण हुन सकेका छैनन्। यसको आन्तरिक जिवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाको मात्रै हो भन्ने बुझाइ त्यहाँका ठूला हाकिमहरुको पनि छ। राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्ने, ऐनमा समयानुकुल सुधार गर्नुपर्ने केही छ भने सुधार गर्नुपर्यो। सुधार गरेको देखिदैन। लोकतान्त्रिकरण गरेको देखिँदैन।’
प्रतिक्रिया दिनुहोस्