ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलामा गाइने जोगिरा (फागु गीत) लोप हुने स्थितिमा


एबीसी न्यूज

‘किनका के हाथ कनक पिचकारी, 
किनका के हाथ अबीर झोरी ? 
रामजी के हाथ में कनक पिचकारी, 
सियाजी के हाथ अबीर झोरी…!! जोगिरा..सररर..!!’ 
बर्दिवास, १२ फागुन ।   (कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

बसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबीर खेल्न शुरु गर्दै फागुन पूर्णिमासम्म दिनदिनै प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा अब मिथिला क्षेत्रमा सुन्न छाडिएको हो । जोगिरा गाउने पुराना पुस्ताका मरिसकेका र केही वृद्ध भएसँगै नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको हो ।

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्..!’ वर्षौंदेखि जोगिरा गाउँदै आउनुभएका भंगाहा–४ का लाली महतोले भन्नुभयो–, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन् ।’ ंबसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि महोत्तरीसहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ । आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको महोत्तरी बर्दिवास–१४ का ७५ वर्षीय दुखी महतो बताउनुहुन्छ ।

संस्कृतिको सम्झनामात्र नभई त्योप्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको छ । “होली आएको पत्तै हुँदैन” बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो खिन्न हुँदै भन्नुहुन्छ–, “टोलटोल बस्तीबस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन् ।” अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ ।

‘कोन तालपर डम्फू बाजे, 
कोन ताल मृदङ्ग, 
कोन तालपर गोरिया नाचे, 
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’ 
(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।
‘हे डम्फाके चोट महलबीच पहुँचय, 
सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !! 
(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्..फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउनुहुन्छ ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गर्नुभयो ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन ।
‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा, 
कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर…!!’ 
(कति हातको धोती लाउँछाँै ? तिमीले लाउने धोतीको कति हात लपेटा छ ? कतिवटा खोलाको पानी खाएका छाँै, कतिवटा बाबुको छोरा हाँै ?) एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरु बेला कल्पना पनि सकिन्न ।

जोगिरामा कामोत्सव भाव, बीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंग एकसाथ भेट्टाइने भाव हुने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिएपनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिएमात्र मिथिला संस्कृति र सभ्यताको पहिचान झन चहकिलो हुँदै जाने शिक्षण पेशाबाट अवकास लिनुभएका महोत्तरी भंगाहा–७ मेघनाथ गोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी (थारु) ले आश संगाल्नुभएको छ ।

होली पर्व आउन पाँच÷छ दिनमात्र बाँकी रहेका बेला महोत्तरीमा जोगिरा हराउँदै गएकोबारे सर्वसाधारणले पनि चासो बढाएका छन् । श्रीपञ्चमीदेखि नै डम्फूको तालमा राति अबेरसम्म बस्ती÷बस्तीमा गुञ्जिने जोगिरा सुन्न नपाउँदा होली नजिकिएको भान नै नहुने महोत्तरीकै औरही नगरपालिका भोइलका ७० वर्षीय मोहन महतोले बताउनुभयो ।

मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाइन थालिने परम्परा छ ।

अघि त्रेता युगमा राम–सीता वनविहार गर्दै डुल्दा फागुन शुक्ल सप्तमीका दिन सो ठाउँ पुग्दा लुकामारी खेल्दै एकापसमा रङ अबीर खेलेका सम्झनामा माध्यमिकी परिक्रमा यहाँ आइपुगेका दिन होली पर्वको रङ अबीरको खेल शुरु गर्ने परम्परा बसेको सोही बस्तीका बासिन्दा अहिले जनकपुरस्थित अग्नीकुण्ड मठका महन्त नवलकिशोर दास वैष्णव बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com