काठमाडौं २१ जेठ । जनमत पार्टीको अवरोधपछि सोमबार बसेको मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा जनमतका तत्कालीन मन्त्री तथा सांसदहरूमाथि भएको लाठी प्रहारको घटना छानबिन गर्न माग गर्दै जनमतका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्।
प्रदेश सभा बैठक सुरु हुनबित्तिकै जनमतका सांसद सञ्जय यादवले प्रदेश सरकारले उक्त घटना छानबिन गर्नुपर्ने बताएका थिए। उनले छानबिन समिति गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने पनि बताए।
‘कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा भएको आक्रमणको घटना नजरन्दाज गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारले बदनियतपूर्वक प्रदेश सभामा विरोध गर्ने वातावरण सिर्जना गरेको छ। उक्त घटनाको छानबिन समिति गठन गर्न माग गर्दछौं,’ उनले भने।
जनमतका सबै सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको बताएका छन्।
सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
यो घटना छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै जनमत पार्टीले लगातार प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ।








प्रतिक्रिया दिनुहोस्