काठमाडौं, १७ जेठ । सडक डिभिजन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले भत्काएको सडक दुई दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको छ ।
बुधवार सडक डिभिजनले महानगरलाई पत्रमार्फत उक्त सडक तत्काल पुनर्स्थापना नगरे कारबाही प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएको छ ।
केही दिनअघि मेयर बालेनले न्युरोड सडकमा हस्तक्षेप गरेको भन्दै सडक विभाग र सडक डिभिजन काठमाडौंको कार्यालयको गेटमा धुलो थुपारेका थिए । बालेनको उक्त रवैयाप्रति रुष्ट देखिएको सडक विभागले कडा भाषामा नेपालको कानुनभन्दा ठूलो कोही नरहेको भन्दै प्रचलित कानुनको पालना गर्नु सबैको दायित्व हुने पनि सम्झाएको छ ।
बालेनलाई पठाएको पत्रमा भनिएको छ, ‘मिति २०८१र०२र०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०८१।०१।१२ मा विना सहमति न्यूरोड न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१र०२र१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन ।’
कार्यालयको गेटमा धुलो थुपारेपश्चात सडक विभागले जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रारम्भिक प्रतिक्रिया दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्