काठमाडौं १६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
सहकारीको रकम अपचलन छानबिन गर्न बनाइएको संसदीय समिति सम्बन्धमा कांग्रेसले गरेको सम्झौता ‘हावादारी’ भएको टिप्पणी गर्दै अध्यक्ष थापाले असन्तुष्टि जनाएका हुन्।
सुरुमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरेर छानबिन समितिको कार्यादेश ९टीओआर० बनाउनुपर्ने अडान राख्दै लामो समय संसद् अवरुद्ध गरेको थियो। तर अन्ततः उसले बजेट ल्याउने दिने जेठ १५ गते उनको नाम नलेख्ने तर उनी संलग्न सहकारी र संस्था उल्लेख गर्नेमा सहमति जनाई छानबिन समिति गठन गरेको थियो।
‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ’, थापाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनभने यस्तो सहमतिको लागि त सरकार धेरै अघि नै तयार थियो।’
प्रतिक्रिया दिनुहोस्