काठमाडौं, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग सोधपुछ गरेका थिए ।
नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन् । यसैगरी, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्