काठमाडौं ७ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।
‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ,’ उनले भने, ‘यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ ।’
उनले सरकारमा भएकै दलभित्रपनि सरकारप्रतिको निराशा रहेको छर्लङ्ग बाहिर आइरहेको बताए ।
प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी सम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भएमात्रै विश्वास गर्न सकिने बताए । ‘प्रहरीले अनुसन्धान गरेको छ, तर रवि लामिछाने दोषी देखिए पनि नचिनेको कुरा आएको छ,’ प्रवक्ता महतले भने, ‘गृहमन्त्रीलाई प्रहरीले चिन्ने कुरै भएन, हामीले त्यहीकारण यथार्थ के हो रु त्यसबारे फरक संरचनाबाट अनुसन्धान गरौँ भनेका हौँ ।’
प्रतिक्रिया दिनुहोस्