काठमाडौं, १ वैशाख । अस्थिर राजनिति र खस्कँदो अर्थतन्त्रबाट माथि उठ्न नसकिँदै २०८० साल पनि सकिएको छ । लामो समयदेखि अस्थिर राजनितिको चपेटामा परेको नेपालको राजनिति २०८० सालमा झनै अस्थिर रह्यो ।कांग्रेससँग फुटेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेर फेरि कांग्रेससँगै फर्किएको एक वर्ष ६ दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही चक्र दोहोराउदै फागुन २१ गते एमालेसँग मिल्दै तेस्रो पटक विश्वासको मत लिए ।केन्द्रमा सरकारको परिवर्तनले प्रदेश सरकारहरुको यसवर्ष सरकार परिवर्तन र पुनर्गठनमै वित्यो । यसले विकास निर्माणका कामहरुले गति लिन सकेन । यसरी हरेक वर्षको सुरुवातमा सुधारको ठूलो आशा राखिने नेपालको आर्थिक स्थिति यस वर्ष पनि निराशामै बितेको छ ।
२०८० साल राजनितिक रुपमा अस्थिर बन्दा त्यसले मुलुकको आर्थिक स्तरमा पनि सुधार दिन सकेन । सत्ताबाट बाहिरिएको एक वर्ष ६ दिनमा नेकपा एमाले यस वर्ष फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा फर्किएर तेस्रो पटक विश्वासको मत लिए । २०७९ पुस १० गते एमालेको बलमा प्रचण्ड प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले एमाले–माओवादी समीकरणअनुसार सङ्घ र प्रदेशसम्म सबै राजकीय पदमा भागबण्डा मिलाइएको थियो । तर, तीन महिना नपुग्दै फागुन १६ गते समीकरण भत्कियो । कांग्रेस–माओवादीको पुरानै गठबन्धन बिउँताएर सत्ता लम्ब्याएका प्रधानमन्त्री प्रचण्ड एक वर्ष नपुग्दै फेरि एमाले–माओवादीसहितको अर्को समीकरण बनाउन सफल भए ।प्रचण्डले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ समीकरण बनाइएको तर्क गरेका छन् । उनले वामपन्थी गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेको जनाए ।एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनका प्रमुख योजनाकार प्रचण्ड भएको र आफूले समर्थन गरेको प्रष्टीकरण दिएका छन् ।
फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले छिमेकी मुलुकको दबाब वा प्रभावमा नभई आफ्नै बुद्धिले गठबन्धन बनाएको दाबी गरेका थिए । नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य जेसुकै भए पनि ओली–प्रचण्ड पुनर्मिलनले २०८० सालमा ठुलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।पूर्वप्रधानमन्त्री माधव नेपालको नाममात्र लिए पनि मुख कुला गर्नुपर्ने अराजनीतिक अभिव्यक्ति दिने गरेका ओली अन्ततः उनलाई नै गठबन्धनमा समेट्न आफैँ अग्रसर भए । झण्डै तीन वर्षपछि ओली, प्रचण्ड र माधवको सहकार्यले पनि वामपन्थीबिच एकतालाई थप बल पुगेको नेताहरू बताउँछन् । उता, सडकमा राप्रपा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत विभिन्न सङ्घसंस्थाले व्यवस्था विरोधी आन्दोलन चर्काइरहेको बेला समीकरणलाई बलियो बनाएर जाने विषयमा एमाले र माओवादीका नेताहरू पनि सकारात्मक छन् ।नयाँ समिकरणमा एमाले, माओवादी, रास्वपा र जसपाको शीर्ष नेताहरूबिच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको थियो । तर चार दलले मात्र सङ्घ र प्रदेशको सत्ता नजोगिने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाएर गठबन्धनमा ल्याउन सफल भए । त्यसअघि २०८० साल असार ४ गते राष्ट्रिय सभागृहमा तत्कालीन सत्ता गठबन्धनका चार वाम शक्ति मिलेर समाजवादी मोर्चा घोषणा गरे ।
नेपाली विशेषताको समाजवादी क्रान्ति गर्ने दीर्घकालीन लक्ष्य राख्दै सत्ता घटक माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा बनाए । उग्रवामपन्थी विचार बोकेका नेकपा, माओवादी केन्द्र र नरम वामपन्थी विचार बोकेका एकीकृत समाजवादी, जनता समाजवादीबिच गठबन्धनले पूरै राजनीति तरङ्गित बन्यो । यता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता नजिक पुगेर पनि माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ । पार्टी एकताका लागि दुवै पार्टीले अध्यक्षको नेतृत्वमा एकता समायोजन समिति गठन गरेका थिए । तर चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरी नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवले माओवादीसँग एकता गर्ने सहमति गरेपछि एकता प्रक्रिया भाँडिएको हो । त्यस्तै, पछिल्लो निर्वाचनमा नयाँ दल र अनुहारप्रति आकर्षित जनमतबाट एमाले, माओवादी, एकीकृत समाजवादी लगायत दलहरू सशङ्कित छन् । यथास्थिति कायमै रहेमा २०८४ को निर्वाचनमा शासन सत्ता आफ्नो हातबाट फुत्किने र त्यसको फाइदा व्यवस्था विरोधी शक्तिहरूले लिनसक्ने तर्फ यी दल सचेत रहेको देखिन्छ । यद्यपि नयाँ समिकरणबाट बनेको सरकारलाई सरकार टिकाउनै चुनौति छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबि लामिछानेप्रति प्रतिपक्षी दल कांग्रेसको विरोधले एक महिना लामो समयदेखि संसद अवरद्ध छ । जसले गर्दा संसदमा विचाराधिन विधेयकहरुले निष्कर्श पाउन सकेको छैन । अर्कातिर, केन्द्रमा सरकारको अस्थिरताले प्रदेश सरकारहरुको काम कारबाही पनि प्रभावित बनेको छ ।
हरेक वर्ष संघ र केन्द्र सरकारको भन्दा कम बजेट खर्च भएको भन्दै प्रदेश सरकारका अस्तित्व माथि नै प्रश्न खेपीरहेको प्रदेश सरकारहरु केवल सरकार भत्काउने र बनाउने खेलमै व्यस्त छन् । यसले खस्कँदो क्रममा रहेको नेपालको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ । यसअर्थ पनि २०८० सालमा पनि नेपालको आर्थिक स्थितिमा खासै सुधार आउन सकेन । आन्तरिक माग र उत्पादनमा जसरी गिरावट आइरहेको छ, त्यसलाई ध्यान दिने हो भने विश्व बैंकको ३।३ प्रतिशतको नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण भेट्न पनि मुस्किल छ । राजनितिक रुपमा अस्थिर हुँदा नयाँ चुनावपछि बनेको नयाँ सरकारले यो वर्ष अर्थतन्त्र सुधारको अवसरलाई खेर फालेको हो ।यो वर्ष सरकारको कुनै पनि योगदान नभएका तीन क्षेत्रमा विशेष सुधार देखिएको छ । रेमिट्यान्स हरेक महिना औसतमा १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको छ । त्यस्तै, पर्यटक पनि मासिक १ लाखभन्दा बढी आइरहेका छन् । त्यतिमात्र होइन, सूचना प्रविधि सेवामा भएको बढोत्तरीका कारण मुलुकको सेवा निर्यात पनि उत्साहजनक देखिएको छ ।
यी तीन क्षेत्र सकारात्मक हुँदा र आयातमा संकुचन आउँदा विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, चालु खाता घाटाजस्ता परिसूचक बलिया त बनेका छन्, तर ती सूचक ‘बफर’ जस्ता हुन्, तिनले अर्थतन्त्रलाई जोगाउन सुरक्षा कवचको काम गरे पनि आफैं अर्थतन्त्रमा कुनै सुधार भने गर्दैनन् ।अर्थतन्त्र सुधार हुन लगानी, रोजगारी सिर्जना, आन्तरिक माग, उत्पादन र निर्यातमा बढोत्तरी आउनुपर्छ । तर, यसमा खासै सुधार हुन सकेको छैन । अर्थतन्त्रलाई लयमा ल्याउन राष्ट्र बैंकले पनि पटक पटक लचक निति ल्याउनु परेको छ । फलस्वरुप हाल वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २।२५ प्रतिशत बिन्दुले घटेको छ । तर, ब्याजदर घट्दा पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जामा अपेक्षाकृत सुधार भएको छैन भने आयात तथा निर्यातमा संकुचन कायमै छ । चालु आव आठ महिनामा आयात २।७ प्रतिशत घटेको छ । निर्यात पनि ४ प्रतिशतले माइनसमा छ ।तर, रेमिट्यान्समा भने बलियो वृद्धि देखिएको छ । चालु आव आठ महिनामा रेमिट्यान्स २१ प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यसकै मद्दतमा शोधनान्तर बचत ३ खर्ब २७ अर्ब नाघेको छ भने चालु खाता बचत १ खर्ब ६७ अर्ब पुगेको छ ।सरकारले बजेटमार्फत नै पूँजीगत बजेटको आकार घटायो । गत आवभन्दा पनि पूँजीगत खर्च घटाएर ३ खर्ब २ अर्ब मात्रै विनियोजन गरियो, जुन कुल बजेटको १७ प्रतिशत मात्रै हो । जबकि, अघिल्ला वर्षहरूमा औसत २० प्रतिशत पूँजीगत बजेट विनियोजन हुने गरेको थियो ।विनियोजन मात्रै होइन, खर्च र राजस्वका हिसाबले पनि यो वर्ष उत्साहजनक देखिएको छैन । यद्यपि, आन्तरिक अर्थतन्त्रमा देखिएको संकट कायमै रहे पनि यो वर्ष सरकारका तीन क्षेत्र रेमिट्यान्स, पर्यटक आईटी सेवामा भएको बढोत्तरीका कारण मुलुकको सेवा निर्यात पनि उत्साहजनक देखिएको छ ।
नेपाली क्रिकेट टिमले उमेर समूहका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको उपाधि जित्दै १९ वर्षमुनिको एसिया कप खेल्यो । त्यसपछि नेपालले दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेटमा पनि आफ्नो खेल कौशल देखायो । यस्तै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको पनि उपाधि जित्यो । अबको दुई महिनापछि नेपाली पुरुष टोलीले टी–२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । यस्तै नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिताको झण्डै दुई दशकपछि रुबिना क्षेत्रीको शतकसँगै यो वर्ष एउटा अर्को उपलब्धि हासिल गर्न सफल भयो ।
– क्रिकेटकै कुरा गर्दा बलात्कारको मुद्दामा सन्दीप लामिछाने जिल्ला अदालतबाट दोषी ठहर भएका छन् । तर खेल मिलेमतोको आरोप लागेका मेहबुब आलम र मोहम्मद आदिल अन्सारीले भने सफाइ पाएका छन् ।
– क्रिकेट उल्लासमय हुँदा फुटबल भने तुलानात्मक रूपमा शान्त रह्यो । यही वर्षकै कुरा गर्दा दशरथ रङ्गशालाको अवस्था खराब हुँदा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटको खेलसमेत बहराइनको मैदानमा खेल्नुपर्ने तितो घटना भयो ।
१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले अपेक्षाकृत खेल्न सकेन । यस्तै विश्वकप छनोट खेलमा पनि नेपाल नराम्ररी हार बेहोर्न पुग्यो । बरु फुटबल खेलाडी पलायन झनै बढ्यो । तर नेपाली महिला राष्ट्रिय फुटबलकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ का लागि मात्र होइन, महिला फुटबलका लागि नै २०८० साल सम्झनलायक बन्यो । अझ व्यक्तिगत उपलब्धिका हिसाबले साम्बा युरोपमा फुटबल खेल्ने पहिलो नेपाली खेलाडीको रूपमा रहन सफल भइन् ।
– केही महिला खेलाडीले दिलाएको सफलताले भने २०८० साल सर्वाधिक सफल र सधैँ यादगार वर्षका रूपमा छाप छोड्न सफल भयो । नेपाली खेलकुदमा महिला खेलाडीको वर्चस्व र सफलताको शृङ्खला २०८० सालको शुरुवातबाटै भयो । दृष्टिविहीन महिला क्रिकेटमा विश्व कीर्तिमानी प्रदर्शनदेखि एसियन खेलकुद प्रतियोगिता ९एसियाड० मा नेपालले व्यक्तिगत स्पर्धामा जितेको रजत पदक महिला खेलाडीकै नाममा रह्यो ।
नेपालले झण्डै सात वर्षअघि विश्वमै पहिलो पटक दृष्टिविहीन महिला क्रिकेट टोली बनाएर कीर्तिमान बनाएको थियो । गएको असोजमा ‘जम्बो’ टोलीसहित एसियाली खेलकुद सर्वाधिक ठूलो इभेन्ट ‘एसियाड’ मा अन्तिम क्षणमा कबड्डीले टिम इभेन्टमा पदकविहीन हुने खतरा टार्दै पहिलो कास्य पदक जित्यो । तर नेपालका लागि सर्वाधिक सम्झनलायक क्षण भने १९ वर्षीया एरिका गुरुङले करातेको कुमुतेतर्फ ६८ केजीमाथिको तौल समूहमा रजत पदक जित्दै ऐतिहासिक उपलब्धि दिलाइन् ।
सविता राजभण्डारीले तेक्वान्दोमा रजत जितेको २५ वर्षपछि एरिकाले नेपाललाई रजत दिलाउँदै २०८० सालमा नेपाली खेलकुदका लागि सम्झनलायक वर्षका रूपमा छोड्न सफल भइन् ।
नेपाललाई अन्तर्राष्ट्रिय पारा खेलमा लगातार उपलब्धि दिलाउँदै आएकी पलेशा गोवर्धनले चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य जित्दै पहिलो पटक नेपाललाई पारा एसियाडमा पदक दिलाउन सफल भइन् ।
– खेल पूर्वाधारको कुरा गर्दा सरकारले यो वर्ष काठमाण्डौको मूलपानी मैदान ९तल्लो०, मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र चितवन भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय त गरेको छ तर ती पूर्वाधारको निर्माणले गति पाउने गरी खासै काम गरेको छैन । बरु यो वर्ष भैरहवामा गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा निर्माण गरेको ‘एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला’ चर्चाको विषय बन्यो ।
हरेक नेपाली र नेपालका लागि थप उत्साह सिर्जना गर्न सकोस्, नयाँ वर्ष २०८१ साल थपसकारात्मक र सफल बनोस् शुभकामना ।
प्रतिक्रिया दिनुहोस्