काठमाडौं, २६ चैत्र । काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।
अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । जनस्वास्थ्यविद् कमल रानाभाट अहिले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ ।’
२०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ ।वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थियो । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ ।यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ ।
प्रतिक्रिया दिनुहोस्