काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको हो । यसअघि इलाम– २ र बझाङ प्रदेशसभा– १ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए ।
पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो । संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्