काठमाडौं १३ चैत । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिएका छन्। विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार ९ दिने चीन भ्रमणमा निस्केका श्रेष्ठले बेइजिङमा भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्।
परराष्ट्रमन्त्री श्रेष्ठद्वारा चिनियाँ लगानीकर्ताहरूलाई लगानी सम्मेलनमा निम्ता
मंगलबार अपराह्न बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै उनले आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे। आगामी महिना नेपालमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा पूर्वलगानी सेमिनारका रुपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए। चिनियाँ लगानीकर्ताहरूलाई नेपालको लगानी सम्मेलनमा सहभागिता जनाउँदै यथोचित लगानी गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देशमार्फत् पनि अपील गरिएको थियो।
कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा, शिक्षा लगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको जानकारी गराए। चिनियाँ लगानीकर्तालाई स्वागत गर्न लगानी बोर्ड तयार रहेको भन्दै उनले चीनबाट लगानी सम्मेलनमा उत्साहजनक सहभागिताको अपेक्षा गरिएको सुनाए। उनले भने, ‘नेपालका विविध क्षेत्रमा विदेशी लगानी चाहिएको छ। त्यसमा चिनियाँ लगानीकर्ताको योगदान महत्त्वपूर्ण रहनेछ।’
कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूले आफ्ना अनुभव सुनाए। उनीहरुले नेपालको लगानी अवस्थाबारेमा प्रकाश पारे। चिनियाँ अन्तर्राष्ट्रिय जल तथा विद्युत् कम्पनीका नायब महाप्रबन्धक छन मिली, सीसीओआइसीका उपमहासचिव सु लियाङलगायतले नेपालमा भोगेका आफ्ना अनुभव अन्य लगानीकर्ताबीच साझा गरेका थिए।
सोमबार बेइजिङ उत्रिएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोही दिन चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन ९सीपीपीसीसी० अध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति पोलिटब्युरो स्थायी समिति सदस्य वाङ हुनिङसँग त्याउवुथाई अतिथि गृहमा भेटवार्ता गरेका थिए।
भेटमा द्विपक्षीय सहयोग र आपसी सरोकारका विभिन्न विषयमा उच्चस्तरीय आदानप्रदान, आर्थिक सहयोग, कनेक्टिभिटी, जनस्तरको सम्पर्कलगायतका विषयमा छलफल भएको थियो। चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार वाङ हु निङले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्ताका क्रममा भएका विषयवस्तुको स्मरण गरे। उनले भने, ‘दुवै पक्षले राजनीतिक समर्थनलाई बलियो बनाउनुपर्छ। बीआरआईको उच्च गुणस्तरीय संयुक्त निर्माणलाई बढावा दिनुपर्छ र जनता(जनताबीचको सम्बन्धलाई गहिरो बनाउनुपर्छ।’
चीनले नेपालका नेताहरूसँग हासिल गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चीन(नेपाल मित्रताको रणनीतिक साझेदारीलाई प्रगाढ बनाउन इच्छुक रहेको पनि उनले बताए। जवाफमा श्रेष्ठले महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको ठूलो उपलब्धिको प्रशंसा गर्दै नेपाल एक चीन सिद्धान्तमा दृढताका साथ लागिपरेको र चीनसँग विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई अझ सुदृढ गर्न तत्पर रहेको बताए।
उनले सोही दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग ९आईडीसीपीसी०की उपमन्त्री सुन हाइयानसँग भेट गरेर आपसी सरोकारका विषयमा छलफल गरे भने सुनले आयोजना गरेको रात्रिभोजमा सरिक भए। उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार साँझ समकक्षी वाङ यीसँग भेटेपछि छोङछिङ, ल्हासा र सिचुवान प्रान्तको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। तर मंगलबारदेखि हाइनान प्रान्तमा सुरू भएको पोआउ एशिया मञ्च(२०२४ वार्षिक सम्मेलनमा भने उनको सहभागिता छैन। ४ दिनसम्म चल्ने मञ्चको नारा एसिया र विश्वस् संयुक्त चुनौती र साझा कर्तव्य भन्ने रहेको छ।
प्रतिक्रिया दिनुहोस्