काठमाडौं १२ चैत । साताव्यापी भ्रमणका लागि चीनको राजधानी बेइजिङ आइपुगेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको आफ्ना चिनियाँ समकक्षीका अलावा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पनि भेटवार्ता हुने भएको छ।
सत्तारुढ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले बेइजिङमा उत्रेकै दिन सोमबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्दै छन्।
चीनको शासनमा सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिका एक सदस्य वाङ पार्टीभित्र प्रमुख विचारक नेता मानिन्छन्, जो राजकीय जिम्मेवारीमा समेत शीर्षस्थानमा छन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स( सीपीपीसीसी० का अध्यक्ष हुन्।
चिनियाँ शासन व्यवस्थाअनुसार सीपीपीसीसीले सरकारलाई परामर्श दिने काम त गर्छ नै, त्यसबाहेक संयुक्त मोर्चाको भूमिकामा समेत यो निकाय रहेको छ। सीपीपीसीसीमा सत्तारूढ सीपीसीसहित चीनका आठ वैधानिक राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन्।
सन् २०१७ देखि पार्टीको स्थायी समितिमा स्थान बनाएका वाङ दुई वर्षअघि सम्पन्न सीपीसीको बीसौँ महाधिवेशनबाट स्थायी समितिको पाचौँ नम्बरमा उक्लेका हुन्।
सीपीसीभित्र उनीभन्दा अगाडिको वरीयतामा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली चिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लेजी मात्र छन्।
सीपीसी स्थायी समितिका सदस्यहरूको राष्ट्रपति एवं पार्टी महासचिव सी चिनफिङसँग सोझो सम्पर्क हुन्छ। त्यसबाहेक राष्ट्रपति सीका विचारहरूलाई समृद्ध र विकसित बनाउनसमेत वाङको भूमिका महत्त्वपूर्ण रहेको मानिन्छ, जसले गर्दा राष्ट्रपति सीसँग उनी विशेष निकट छन्।
राष्ट्रपति सीले अघि सारेको तथा चिनियाँ परराष्ट्र नीतिको अभिन्न अंग बनेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना, ‘चिनियाँ सपना’ योजना निर्माणमा स्थायी समिति सदस्य वाङकै बढी योगदान रहेको मानिन्छ।
प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा आएका वाङले प्राज्ञिक कामको सिलसिलामा सन् १९९० को दशकमा केही समय अमेरिकामा बिताएका थिए। अमेरिकामा हासिल गरेको अनुभवका आधारमा उनले लेखेको ‘अमेरिका अगेन्स्ट अमेरिका’ ९अमेरिकाविरुद्ध अमेरिका० पुस्तक चीनमा निकै चर्चित छ।
विदेशमन्त्री वाङ यी भने सीपीसीको पोलिटब्यूरो सदस्य र स्टेट काउन्सिलर छन्। बेइजिङको दियोताई स्टेट गेस्ट हाउसमा उपप्रधानमन्त्री श्रेष्ठले सोमबार साँझ स्थायी समिति सदस्य वाङसँग करिब एक घण्टा भेटवार्ता गर्नेछन्। अपरान्ह ५।१० बजेका लागि तय गरिएको भेटवार्ता ६।१० सम्म चल्नेछ। चिनियाँ र नेपाली नेताको भेटवार्ता दियोताई सरकारी अतिथि गृहमा हुनेछ।
स्थायी समिति सदस्य वाङसँग सोमबार साँझ भेटवार्ता सकेपछि श्रेष्ठले सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सन हायनसँग डिनर मिटिङ गर्ने तय भएको छ।
प्रतिक्रिया दिनुहोस्