ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको कास्की अधिवेशन- पृथ्वीसुब्बा र खगराज गुटकै प्रतिस्पर्धा


एबीसी न्यूज

काठमाडौं ११ चैत । नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहे पनि नेकपा एमालेको कास्की जिल्ला कमिटीको अधिवेशनमा प्यानलगत रुपमा नै प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाईं यसपटकको अधिवेशनमा पनि देखिएको छ ।

यो अधिवेशनले १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्र्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने अध्यक्ष मनबहादुर गुरुङले बताए ।

यसअघि २०७८ सालमा भएको जिल्ला अधिवेशनमा पनि प्यानलगत रुपमा नै प्रतिस्पर्धा भएको थियो । २०७८ पुस २८ गते पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र खगराज समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ ९दर्शन लामा० विजयी भएका थिए ।

कास्की र आसपासको राजनीतिमा खाइखेली गरेका खगराजको क्षेत्रमा संघीयतापछि पृथ्वीसुब्बा जब गण्डकी प्रदेशको मुख्यमन्त्री हुन आइपुगे त्यतिबेलादेखि नै यी दुई समूहको प्रतिष्ठासँग जोडिँदै आएको हो ।

२०७९ को स्थानीय तहको निर्वाचन हुँदै एमाले गण्डकीको प्रथम अधिवेशनसम्म आइपुग्दा त यी दुईबीचको प्रतिस्पर्धा निकै पेचिलो र निषेधकै तहमा देखिएको थियो ।

गत असोजमा भएको गण्डकी अधिवेशनमा पृथ्वीसुब्बा र खगराज समूहले प्यानलै बनाएर प्रतिस्पर्धामा जाँदा अध्यक्ष र पदाधिकारीसहित अधिकांश सदस्यमा पृथ्वीसुब्बा समूहले जितेको थियो ।

यसपटक कास्की जिल्ला अधिवेशनको प्रतिनिधि छनोटमै दुई गुटबीच विवाद देखिएको थियो । पृथ्वीसुब्बा पक्षका एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले सुरुको ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गरेका थिए ।

पार्टीले पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णयविपरीत सर्कुलर जारी गरिएको भन्दै स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा केन्द्रमै उजुरी लिएर पुगेकी थिइन् ।

केन्द्रले ३ चैतमा प्रतिनिधि छनोट प्रक्रिया स्थगित गर्दै फेरि बैठक बसेर विवाद टुंग्याउन परिपत्र गरेको थियो । परिपत्रपछि मध्यमार्गी रुपमा पहिलो आधार ४० जनालाई मान्ने र त्यसपछि प्रत्येक ३० जना बराबर थप १ प्रतिनिधि आउने सहमतिपछि शनिबार अधिवेशन उद्घाटन भयो । आइतबार अधिवेशनको बन्दसत्र चलिरहेको छ ।

 

कास्की जिल्ला अधिवेशनमा पनि प्यानलै चुनावमा प्रतिस्पर्धा गर्ने संकेत नेताहरुले गरिरहेका छन् । अहिले केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै फेरि गण्डकी मुख्यमन्त्री हुने दिनको पर्खाइमा रहेका खगराज यतिबेला एमालेको कास्की अधिवेशनमा लचिलो देखिएका छन् ।

उपमहासचिव पृथ्वीसुब्बाले पनि पोखरामै बसेर गुटगत तयारीमा भने लामो समय खर्चिएनन् । तर, खगराज समूहबाट स्वयं स्थायी कमिटी सदस्य थममाया थापा र कृष्ण थापाले नेतृत्व गरिरहेका छन् भने पृथ्वीसुब्बा समूहबाट जगत विश्वकर्मा, भीम कार्कीले नेतृत्व गरिरहेका छन् ।

उद्घाटन सत्रमा खगराजले गुटको राजनीति अन्त्य गर्दै उदाहरण पेश गर्न आह्वान गरे । ‘कमरेडहरु कहिलेकाहीँ सोचेजस्तो नहुन सक्छ, मैले पाइन भन्ने हुन सक्छ । तपाईंहरुले नै सर्वसम्मत बनाउन सक्नुहुन्छ’, शनिबार उद्घाटन सत्रमा खगराजले भने, ‘फुट र गुट मुर्दावाद, नेकपा एमाले जिन्दावाद भनेर जानेछौं ।’

पृथ्वीसुब्बा अर्को कार्यक्रममा भएकाले उद्घाटन सत्रमा ढिला गरी आइपुग्दा प्रमुख वक्ता महासचिव शंकर पोखरेल बोल्न थालेसकेकाले अवसर पाएनन् ।

गण्डकी अहिलेसम्म अधिवेशन भएका २ जिल्लामध्ये म्याग्दीमा सर्वसम्मत रुपमा कमिटी चयन भएको थियो भने गोरखामा चुनावै भएर पृथ्वीसुब्बा समूहको वर्चश्व देखिएको थियो । गण्डकीका ११ जिल्लामध्ये अधिवेशन हुने कास्की तेस्रो जिल्ला हो ।

अधिवेशनबाटै एमाले नेताको होइन, जनताको बनाइदिन खगराजले आह्वान गरेका थिए । अधिकारी कास्कीमै आफ्नो वर्चश्व गुमाउन चाहन्नन् । भरसक उनी नेतृत्व र केही पदाधिकारी आफ्नो पक्षका उम्मेदवारलाई दिलाएर सर्वसम्मत होस् भन्ने चाहन्छन् ।

खगराज समूहबाट अध्यक्षमा हालको सचिव बैनबहादुर अधिकारी र सचिवमा उपसचिव दर्शन लामाले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ । यी दुबै उम्मेदवार खगराज समूहका सबैभन्दा बलिया बन्ने विश्लेषण नेताहरुले पनि गरिरहेका छन् ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा अहिलेका उपाध्यक्ष तेजनारायण अधिकारी र नेता माधव बास्तोलाले दाबी गरिरहेका छन् । उपाध्यक्ष रहेका तेजनारायणलाई दिँदा पार्टी कार्यकर्ताको भावना उनीप्रति बढ्न सक्ने र बास्तोलालाई दिँदा युवा मत आउन सक्ने विश्लेषण गर्दै यो समूहले टुंगो लगाइसकेको छैन ।

केन्द्रीय सदस्य जगत विकले यो समूहबाट बास्तोलालाई अध्यक्ष उठाउन चाहेका छन् भने पृथ्वीसुब्बा पनि सकारात्मक देखिएका छन् ।

पृथ्वीसुब्बा समूहबाट सचिवमा सुरेन्द्र गुरुङको बढी सम्भावना देखिएको छ । अन्य पदाधिकारीमा पनि टुंगो लगाउन नेताहरुलाई सकस परिरहेको छ ।

कास्कीमा खगराज समूह बलियो देखिएको र उम्मेदवार पनि जनस्तरमा भिजेको तथा अनुभव बटुलेका हिसाबले पनि स्वभाविक देखिएकाले पृथ्वीसुब्बा समूहलाई बढी नै दबाब सिर्जना भइरहेको सोही समूहका नेताहरुले बताइरहेका छन् । तर, दुबै पक्षले चुनावी गृहकार्य र जितको दाबी भने गरिरहेका छन् ।

आइतबार अधिवेशनको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुँदै पारित भएर मनोनयनको चरणमा प्रवेश गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

सम्बन्धित

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

योगेश भट्टराई : “अध्यक्षको कुराले चिन्तित र दुःखी भएँ, तर मिसनमा अडिग छु”

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com