ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री- पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुनेछ


एबीसी न्यूज

काठमाडौं ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् ।

आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् ।

पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

पर्यटकीय राजधानी घोषणाले पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको प्रधानमन्त्रीले बताए ।

पोखराका हरेक क्षेत्रको व्यवस्थित प्रचारप्रसार गरेर विश्व बजारबाट पर्यटक भित्र्याउनुपर्ने प्रधानमन्त्री दाहालले भनाइ राखे । यसको लागि आवश्यक नीतिगत पहल र समन्वय गर्न सरकार तयार रहेको उनले बताए । ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु,’ उनले भने, ‘पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिनेछ ।’

सरकारले प्रदेश र स्थानीय तहसँग मिलेर पोखराको रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउने पनि प्रधानमन्त्री दाहालले बताएका छन् ।

पढ्नुहोस् प्रधानमन्त्रीको मन्तव्य

प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न आयोजित यस घोषणासभामा सहभागी हुन पाउँदा मलाई गर्व र खुसीको अनुभूति भएको छ ।

सर्वप्रथम गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत आसपासका अन्य स्थानीय तहहरू, उद्यमी व्यवसायी र सम्बद्व संघरसंस्थाहरूको संयुक्त पहलमा गरिएको यस महत्वपूर्ण कार्यको सम्मान एवं प्रशंसा गर्दछु ।

यस अभियानले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु । यस अवसरमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सम्बन्धित सबै स्थानीय तह, संघरसंस्था र यहाँ उपस्थित आदरणीय जनसमुदायलाई हार्दिक अभिवादन, बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

पोखरा नेपालका मुख्य शहरहरूमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त शहर पनि हो । यहाँका नदीहरू, सुन्दर हिमश्रृङ्खलाहरू, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, छहरा र गल्छीहरूले पोखराको सुन्दरतामा अनुपमता मात्र थपेका छैनन्, यहाँको आर्थिक विकास, आत्मनिर्भरता, सांस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवं ऐतिहासिक पहिचान र जनसम्बन्धमा समेत गुरूत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै आएको गण्डकी प्रदेश नेपालको राजनीति, सभ्यता र प्रशासनिक विकासक्रमका दृष्टिले जति गौरवशाली छ, त्यति नै सम्भावनायुक्त समेत छ ।

सेती नदी, फेवाताल, पाताले छाँगो, महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, धर्मशीला वुद्घ विहार, विश्वशान्ति स्तुपा, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुंगेसाँघु, लक्ष्मीनारायण मन्दिर, तालवाराही मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती, सराङकोट, वेगनास ताल, रूपा ताल, खाष्टे ताल, दिपाङ ताल, गुदे ताल, न्यूरेनी ताल, मैदी ताल, क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय, अन्नपूर्ण संग्रहालय, माछापुच्छ्रे लगायतका मनमोहक हिम श्रृङ्खलाहरू, इन्द्र गुफा, खारपानी तातोपानी, कृष्ती ९मट्टीखान०, पुम्दीभुम्दी, स्याक्लुङकोट, घान्द्रुक, धम्पुस तथा लान्द्रुक, सिकलेस, भदौरे देउराली, पञ्चासे क्षेत्र, मादी नदी, विभिन्न गुम्बाहरू लगायत सयौँ प्राकृतिक, धार्मिक एवं सांस्कृतिक गन्तव्यहरू पोखरा र यस क्षेत्र आसपास रहेका छन् ।

नेपाली समाजको भाषिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधतालाई एकै ठाउँमा संकेन्द्रित गर्ने यस क्षेत्रका पर्यटकीय गन्तव्यहरू हाम्रा मूल्यवान निधि हुन् । यिनीहरूको संरक्षण, प्रवर्धन, व्यवस्थित प्रचारप्रसारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा गुणात्मक सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित तथा स्थापित मान्यता, सिद्वान्त तथा अभ्यासलाई समेत मध्यनजर गरी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने यस निर्णयले विश्व पर्यटन बजारमा पोखराको व्राण्डिङ गर्न, पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्ताहरूलाई अनुकूल वातावरण सिर्जना गर्न र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको छु ।

पर्यटकीय राजधानी घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुँदै जाने विश्वास लिएको छु ।

पर्यटकीय राजधानी घोषणापश्चात प्रदेश सरकार, महानगरपालिका, निजी क्षेत्र र नागरिक समाजले निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीबारे यहाँहरू जानकार नै हुनुहुन्छ । २१ औँ शताब्दीको आधुनिक युगमा भौतिक र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउनुपर्दछ ।

तर, यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारहरूले भौतिक विकासलाई मात्रै विकासका रूपमा परिभाषित गर्ने, मानवीय विकासको पक्ष अवमूल्यन गर्ने, विकासका नाममा सीमान्तकृत वर्ग र समुदायको अभिभावकत्व ग्रहण नगर्नेजस्ता समस्या देखिएका छन् । तसर्थ, आम नागरिकको चाहना र भावना मुखरित हुने गरी विकासको वैज्ञानिक अवधारणा लागू गर्न यहाँहरूले अग्रसरता लिने विश्वास व्यक्त गर्दछु ।

तालैतालको शहरको रूपमा परिचित पोखरा र आसपासमा रहेका प्रकृतिप्रदत्त अनुपम सम्पदा, जैविक विविधता र सांस्कृतिक धरोहरहरूको संरक्षण, सम्बर्द्धन, दिगो विकास र प्रवर्द्धनमा सबैको ध्यान जाने नै छ ।

यसका निम्ति संघीय सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाका निम्ति आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयस्तरमा कुशल व्यवस्थापनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरूमा प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यान जाने विश्वास व्यक्त गर्दछु ।

पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिनेछ ।

साथै पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ । पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने नै छ । आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यवसायिक उडानको लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।

गण्डकी प्रदेशको विकासमा दुरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिनेछ ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानुनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशबासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहन्छु ।

फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरि निष्कर्षमा पुर्‍याउन पहल गरिनेछ ।

पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अबलम्वन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु ।

यसै घोषणा सभामार्फत सम्पूर्ण नेपालीहरूमा अपील गर्दछु– पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ । आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।

लक्ष्यअनुसार पर्यटक भित्राउन हामीले खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गरौँ । यसका निम्ति सम्पूर्ण पोखरेली जनसमुदायमा विशेष अपील गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com