काठमाडौ २६ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन।घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
इन्दिरा गिरी कृषि राज्यमन्त्री भएका छन । खुशीराम डङ्गौरा थारुलाई विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।
नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार चलाउनका लागि गठबन्धन गरे पनि बहुमत पुगेको छैन ।५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर २५ जना मात्रै भएको छ । बहुमत पुर्याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थालेका छन ।
प्रतिक्रिया दिनुहोस्