काठमाडौँ २ फागुन । नेकपा माओवादी केन्द्रको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको नाम चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् ।
१५ नम्बर समूहका टोली नेता हिमाल शर्माले पनि समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । ३२ बुँदामा सुझाव पेश गरेका शर्माले पार्टीको नाम ठिकै रहेजस्तो लागे पनि धेरै साथीहरूबाट समाजवादी पार्टी नाम राख्न पनि सुझाव आएको बताए ।
एउटा समूहका नेता हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या पाउने अवस्था बनाउनुपर्ने कुरा राखे।
उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै पार्टीका सबै समितिलाई सानो(छरितो कायम गर्न पनि सुझाएका छन्।
त्यस्तै अर्को समूहक नेता ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गरेका छन्।
एक समूहबाट सबै कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव आएको छ। उक्त समूहले सबै माओवादी घटकलाई एक ठाउँ ल्याएर पार्टीको नाम फेर्ने सुझाव आएको हो।
शर्माले प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। केन्द्रीयसहित सबै समितिहरूलाई छरितो बनाउन, जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन्।
विधान अधिवेशनका क्रममा हालसम्म १० समूहले सुझाव पेश गरिसकेका छन्। कमलदीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको अधिवेशनका सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।
प्रस्तावित विधानमा भने ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट पार्टी कमिटी चयन गर्ने उल्लेख छ।








प्रतिक्रिया दिनुहोस्