काठमाडौ २८ माघ । ‘सुधारौँ सोच, संस्कार र व्यवहार स् नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोबारे अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो।
आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरुको भनाइ छ ।भ्रष्टाचार रोक्न चुनौतीपूर्ण रहेको तथा सरकारी कोषमा राजस्व सङ्कलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान रहेको अख्तियारले नै भन्दै आएको छ ।
सरकारका प्रायः सबै क्षेत्रमा कुनै न कुनै किसिमको भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाउँदै आएको छ ।महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि वित्तीय अराजकता बढेको औँल्याएको छ । भ्रष्टाचार निवारणका लागि आयोग स्वायत्त निकाय भए पनि बहालवाला तथा पूर्वमन्त्रीहरू छानबिनका लागि बयान दिन आनाकानी गर्ने, राजनीतिक पहुँचका आधारमा भ्रष्टाचारमा मुछिएकालाई जोगाउन खोज्ने लगायतका घटनाले आयोगको गरिमामाथि प्रश्न पनि उठ्न थालेको छ ।
पछिल्लो समय सरकारी निकाय तथा जिम्मेवार पदाधिकारीले जिम्मेवारी तथा उत्तरदायित्व नलिने, समयमा निर्णय लिन डराउने, निर्णय पन्छाउने, स्वार्थ बाझिँदा पनि आफ्ना पक्षमा निर्णय गर्ने प्रवृत्ति रहेको भन्ने गुनासो पनि बढ्न थालेको छ । देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्