काठमाडौ १४ माघ । रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ । हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको हो ।लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’ मृतकका आफन्त समेत रहेका सोलुुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुव बस्नेतले भने।बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेर प्रहरीलाई जिम्मा लगाएको छ ।लास बगाएपछि बलुकै सोलुखुम्बुको किञ्जामा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगेको हो ।
खनालले मेसिनमा समस्या आएकोले बाँध खोल्नुपरेको बताएका स्थानीयले बताएका छन् । दुगड समूहको लगानी रहेको ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाले केही महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो ।आयोजनाले खोलामा छाड्नुपर्ने जति पानी नछाडेको भन्दै स्थानीयले यसअघि पटकपटक आयोजनाको ध्यानाकर्षण गराउँदै आएका थिए । खोलामा लास जलाउन पानी नै नहुने अनि बगरमा लास जलाइरहँदा पानी छाडिदिने गरेर आयोजनाले त्रसित बनाएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्