काठमाडौं, १० पौष । क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्।
मंगलवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताए।
उनले कम्युनिष्टहरु अहिले कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए। उनले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे। उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे।
उनले भने, ‘संसदीय व्यवस्थामा जाने पार्टीहरू जुन हिजो संसदीय व्यवस्था भन्दा नेपाली कांग्रेसका साथी वा कांग्रेसले संसदीय व्यवस्था त हाम्रै हो भन्ने गर्दथे, त्यो हो पनि तर पछि के भयो भने कम्युनिष्टहरुको एउटा समूह अथवा अर्को समूह ऐतिहासिक झापा विद्रोहका साथीहरु र महान जनयुद्धमा संलग्न साथीहरुको एउटा हिस्सा संसदीय व्यवस्थामा गएर कांग्रेसीहरुको भाग खोसेर हाम्रो पो व्यवस्था हो त भनेर लाग्नुभएको छ। लाजको मर्नु।’
नेता वैद्यले संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट रहेको बताए।
‘चक्र झैँ ५र५ वर्षमा घुमेका छन्। हुने केही होइन। गर्ने त्यही हो’ उनले भने, ‘सत्तामा ओली जी बस्ने अर्का जीले पूरै विरोध गर्छन्। प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन्।’








प्रतिक्रिया दिनुहोस्