ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले नेपालीको शव पठाउन गर्‍यो आनाकानी, नेपालले भन्यो– अस्तु भए पनि पठाइदेऊ


एबीसी न्यूज

काठमाडौं, १० पौष । नेपालको गिर्दो कूटनीतिक साख फेरि एक पटक छताछुल्ल भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ७ जना नेपालीको शव स्वेदश ल्याउन नसकेपछि सरकारको कूटनीतिक क्षमतामा प्रश्न उठेको हो ।

परराष्ट्र मन्त्रालयले नेपालीको शव पठाउन बारम्बार अनुरोध गर्दा पनि रुसले शव पठाउन आनाकानी गरेको छ । रुसले नेपालीको शव नेपाल नपठाउने संकेत दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीलाई बतायो ।

“हामीले पटक–पटक शव पठाउन अनुरोध गर्दा पनि रुसले हाम्रो अनुरोधलाई गम्भीररुपमा लिएको छैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “पीडित परिवारको अनुरोधमा हामी शव नभए पनि ‘अस्तु’ पठाइदेऊ भन्ने अवस्थामा पुगेका छौं र भनेका छौं ।”

२०८० असारयता रुसी सेनामा नेपाली युवाहरूको भर्ती र युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउने विषयमा नेपालले रुसलाई तीन पटक ‘कूटनीतिक नोट’ पठाइसकेको छ ।

एक पटक मस्कोस्थित नेपाली दूतावासमार्फत् रुसी विदेश मन्त्रालय र दुई पटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो । तर, रुसले भने नेपालको असन्तुष्टिलाई नजरअन्दाज गर्दै आएको छ ।

रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतका अनुसार, रुसले नेपालीहरु रुसी सेनामा भर्ना गर्दा गरेको सहमति देखाउँदै शव पठाउन आनाकानी गरेको छ ।

रुसी सेनामा भर्ना हुँदा हस्ताक्षर गर्ने कागजातमा केही कारण मृत्यु भएमा वा मारिएमा शवको अत्येष्टी स्थानीय कानुनअनुसार गरिने उल्लेख भएका कारण शव पठाउन रुसले आनाकानी गरेको दूतावास स्रोतले बतायो ।

“रुसले हामीले राखेको असन्तुष्टि र अनुरोधलाई खासै गम्भीर रुपमा लिएको छैन । यसैकारण हाम्रा धेरै प्रश्नको जवाफ दिएको छैन । हामीले सोध्दा ‘बुझ्दै छौं’ मात्र भन्छन्,” मस्कोस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो ।

शव नेपाल ल्याएपछि नेपालले शवको पोस्टमार्टम गरेर हेर्ला भन्ने डरका कारण पनि रुसले नेपालीको शव पठाउन नचाहेको स्रोतको दाबी छ । “हामी मिलेसम्म शव नेपाल पठाउनको लागि अझै पनि प्रयास गर्दै छौं, तर प्रगति केही भएको छैन,” दूतावास स्रोतले भन्यो ।

गत असारमा रुस–युक्रेन युद्धमा मारिएका नेपालीको शवसमेत हालसम्म नेपालले ल्याउन सकेको छैन । पाँच महिना बितिसक्दा पनि आफ्ना नागरिकको शव ल्याउन नसक्नु र रुसलाई मनाउन नसक्नुले नेपालको कूटनीतिक क्षमता निकै खस्केको देखाएको छ ।

“हामीले प्रयास नगरेका होइनौं, तर रुसले हाम्रो कुरा नै सुन्दैन,” स्रोतले भन्यो ।

सन् २०२४ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्ने बित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो ।

संयुक्त राष्ट्रसंघमा विभिन्न निकायमा भएका प्रस्तावमा पनि नेपालले युक्रेनलाई साथ दिएको थियो । राष्ट्रसंघमा नेपालले खुलेर युक्रेनको पक्ष लिएका कारण पनि रुस नेपालसँग असन्तुष्ट रहँदै आएको दाबी मस्कोस्थित नेपाली दूतावास स्रोतको छ ।

“रुस–युक्रेन युद्धमा नेपाल खुलेर युक्रेनको पक्षमा उभिएका कारण रुस असन्तुष्ट रहँदै आएको थियो । सायद यही कारणले गर्दा पनि रुसले हामीलाई असहयोग गरेको हुनसक्छ,” स्रोतले भन्यो ।

रुसले राम्रो ‘रेस्पोन्स’ नगरेपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा नेपालीको भर्ती र मारिएका नेपालीको शव ल्याउने विषयमा केही नबोल्न रुसस्थित नेपाली दूतावासलाई मौखिक निर्देशन दिएको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासलाई पनि युक्रेनले युद्धबन्दी बनाएका नेपालीका विषयमा केही नबोल्न मौखिक निर्देशन दिएको छ ।

“हामीलाई केही नबोल्नु भनिएको छ । बोल्नुपर्ने भए काठमाडौंबाट मन्त्रालयले नै बोल्ने परराष्ट्रले भनेको छ,” जर्मनीस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो ।

परराष्ट्रको रुस र युक्रेन समेत हेर्ने युरोप–अमेरिका महाशाखालाई पनि पछिल्ला घटनाक्रमका विषयमा मिडियासँग केही कुरा नगर्न भनिएको छ ।

रुसी सेनामा भर्ती भएका गोरखाका सन्दिप लामिछाने २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रुसले लामिछानेको शव पठाउन मानेन र त्यहीँको चिहानमा समाधिस्थ गरेको थियो ।

परराष्ट्र मन्त्रालयले लामिछानेको मृत्यु भएको खबर साउन महिनामा नै पाएको थियो, तर थाहा नपाएझैँ गरेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा बुझ्न सुरु गरेको थियो ।

दूतावासले बुझ्ने क्रममा लामिछानेले सेनामा भर्ती हुँदा रुसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो ।

त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर विज्ञप्तिमा न त रुसको नाम नै उल्लेख थियो न युक्रेनको ।

“विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रुपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,” गत साउन १६ गते जारी विज्ञप्तिमा परराष्ट्रले भनेको थियो, “अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरुमा सुरक्षासम्बन्धी काममा नजानु हुन सबैमा अनरोध गरिन्छ ।”

मस्कोस्थित नेपाली दूतावासले कात्तिक २९ गते रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि मात्र नेपालले औपचारिक रुपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकारेको थियो ।

परराष्ट्र मन्त्रालयले मंसिर १८ गते रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिनेको संख्या ६ पुगेको जनाएको थियो । परराष्ट्रले गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगारज मोक्तान मारिएको जनायो ।

विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाई असन्तुष्टि जनाउँदै कूटनीतिक नोट थमाएको थियो ।

असन्तुष्टि जनाउने क्रममा परराष्ट्रले राजदूतमार्फत रुसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो ।

तर रुसले नेपालको अनुरोधलाई टेरेन । नेपालको आग्रह कार्यान्वयन गर्न अटेरी गरेको रुसबाट फेरि एक जना नेपालीको मृत्यु भएको खबर परराष्ट्रले प्राप्त गर्‍यो ।

कुन्दन सिंह नागलको मृत्यु भएको खबर प्राप्त गरेपछि परराष्ट्रले यही पुस ४ गते फेरी विज्ञप्ति जारी गर्‍यो ।

विज्ञप्तिमा पुनः उही कुरा दोहोर्‍याइएको थियो, “परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनःस्पष्ट गरिन्छ ।”

पुस ४ गतेको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन, घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनःअनुरोध गरिएको थियो ।

“रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्षष्ट अडान राखिएको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको थियो । तर रुसले नेपालले गरेको एउटा अनुरोधको पनि सुनुवाई गरेको छैन, बरु नेपालीलाई सेनामा भर्ती लिइनै रहेको छ ।

पुस ४ गते जारी गरेको विज्ञप्तिमा परराष्ट्रले पहिलो पटक युक्रनले युद्धबन्दी बनाएका चार जना नेपाली बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनको रिहाइका लागि कूटनीतिक पहल भइरहेको जनाएको थियो । तर युद्धबन्दी फिर्ता गर्ने विषयमा पनि खासै उपलब्धि हासिल गरेको छैन ।

रुसी सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपालीको शव ल्याउन मात्र नेपाल असफल भएको होइन । नेपाल रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई नेपालमै रोक्न समेत असफल भएको छ । जसकाकारण सयौंको संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन पुगेका छन् ।

यसरी जाने एक सयभन्दा बढीका परिवारले उनीहरुलाई फिर्ता ल्याउन सहयोग गरिदिन भन्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा आवेदन दिएका छन् ।

के नेपालको कूटनीतिक क्षमता खस्किँदा यस्तो अवस्था आएको हो रु पूर्व राजदूत दिनेश भट्टराई भन्छन्, “कूटनीतिक क्षमता नखस्केको भए त जानेलाई हामी रोक्न सक्थ्यौं होला । नेपालीलाई आफ्नो सेनामा भर्ती गर्नुअघि रुसले नेपाललाई एक पटक सोध्थ्यो होला । शव पनि ल्याउन सक्थ्यौं होला । हाम्रो कूटनीतिले सही मार्ग नलिँदा यस्तो अवस्था आयो ।”

यसमा मस्कोस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालय दुवैको कमजोरी रहेको उनी बताउँछन् । कूटनीतिमा सम्पर्क र नेटवर्क महत्वपूर्ण हुन्छ, तर रुससँगको सम्बन्धमा त्यो देखिँदैन ।

“कूटनीतिमा सम्पर्क र नेटवर्क भनेको विमा जस्तै हो, लगानी गरिराख्नु पर्छ कतिबेला काम लाग्छ थाहै हुँदैन,” विदेश मामिला जानकार भट्टराईले भने । रुसी सेनामा नेपालीको भर्ती रोक्न र त्यहाँ मारिएका नेपालीको शव ल्याउन अब परराष्ट्रमन्त्री र प्रधानमन्त्री स्तरबाटै प्रयास गर्नुपर्ने सुझाव उनको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com