काठमाडौं, ६ पौष । धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् ।
स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो ।
प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् ।
स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्