काठमाडौं, ३ पौष । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
यो वर्ष यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस थियो ।
तापक्रम घटे पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६।७, डडेलधुराको २।८, दिपायलको ३।२, ओखलढुंगाको ४।३ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक गरिएको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।








प्रतिक्रिया दिनुहोस्