काठमाडौं, २९ मंसिर । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभाँस प्रतिफल र कर पछिको नाफा १८३।४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभाँश प्रति शेयर रु।१५८०।– का साथ लाभान्वीत हुने भएका छन् ।
युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको छ ।
समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै भने, “न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ ।”
सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु।१५४।२ करोडबाट बढेर यो वर्ष १८३।४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।
उनले भने,“हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।”
युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरुको रहेको छ ।








प्रतिक्रिया दिनुहोस्