काठमाडौ २९ मंसिर । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाण्डौले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो ।
उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएमा खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ, त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरुलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ ।नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो ।
हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो ।







प्रतिक्रिया दिनुहोस्