काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट् अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।

नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताएका हुन्।

‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व रहिरहन्छ। आजको सन्दर्भमा विश्वमा शान्तिको महत्त्व झन् बढ्न गएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गरे।

‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ। उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ,’ उनले भने।
युद्धबाट शान्तिमा आएका आशोक र आफूबिच एक खालका संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए ।
‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका निम्ति सम्राट् अशोकसँग कहीँ न कहीँ मेरो एक खालको संवेदना जोडिएको कै पाउँछु । पहिलोपटक लुम्बिनी आउँदा मैले यो कुरा भनेको थिएँ । युद्धका एक कमान्डर अशोकले शान्तितिर आएर लुम्बिनीमा अशोक स्तम्भ राखेर बुद्धको सन्देश संसारभर लैजान पहल गरेकोबाट म उत्प्रेरित छु ।
यो कुरा साँचो हो मलाई त्यसबाट प्रेरणा प्राप्त छ । मैले यसअघि र अहिले विश्व समुदायमा शान्तिका लागि गरेको अपिलसँग अशोकको पहल र मेरो भावना मेल खाएको देख्छु । मानिसले विभिन्न अर्थ लगाउँछन् लोकतन्त्रमा भन्न सबैलाई छुट छ’, मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
संवेदनशील भूमि रामाग्रामको स्तूपा अगाडि उभिएर शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमानदार र दृढतापूर्वक ग्रहण गर्न लागिराख्ने विश्वास उनले दिलाए । त्यति धेरै लडाइँबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने आफू त एउटा सानो युद्धबाट आएको मान्छेले धेरै गर्न सक्छ भन्ने आत्मविश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।








प्रतिक्रिया दिनुहोस्