काठमाडौ २४ मंसिर । ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबार बन्द भएको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
पुनः १२:०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ ।
नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।
शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्